हवाई भाडा महँगो हुँदा पर्यटक घट्ने डर

कार्तिक २४, २०८१ |भरत रावल
हवाई भाडा महँगो हुँदा पर्यटक घट्ने डर

काठमाडौं । अन्य देशको तुलनामा खान र बस्न सस्तो भए पनि अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपाल पछिल्लो समय महँगो गन्तव्य बनेको छ । पर्यटकले गर्ने खर्चको ठूलो हिस्सा हवाई भाडामै जान थालेपछि त्यसको असर पर्यटक आगमनमै पर्ने जोखिम बढेको छ । यसले पर्यटन व्यवसायीलाई पनि चिन्तित बनाएको छ ।

सिधा उडान नहुनु, महँगो हवाई भाडा र पर्यटकको बिमा प्रिमियम बढ्दा नेपाल घुम्न आउने पर्यटकको संख्या अपेक्षित रुपमा बढ्न सकेको छैन । पर्यटनबाटै आर्थिक समृद्धिको लक्ष्य लिए पनि पर्यटक भित्र्याउन देखिएका समस्या समाधानतर्फ सरकारको चासो छैन । उल्टै हवाई टिकटमा भ्याट लगाएर महागो हवाई टिकटमाथि भार थोपरेको छ ।

सरकारले चालु आर्थिक बर्षमा १६ लाख पर्यटक ल्याउने भनेर बजेटमै घोषणा गरे पनि सरकारको नीति र व्यवहारमा तालमेल नमिल्दा पर्यटक आगमनले सन् २०१९ को आँकडासमेत नभेट्ने भएको छ । सरकारले चालु आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

तर पर्यटक आगमनको अहिलेको तथ्यांक हेर्ने हो भने १२ लाख पर्यटक भित्र्याउन पनि हम्मेहम्मे छ । सन् २०२४ मा कोभिड अघिभन्दा बढी अर्थात् १३ लाख पर्यटक भित्रिने पर्यटन बोर्डको आँकलन थियो । तर १० महिनासम्म ९ लाख ४१ हजारमात्रै पर्यटक नेपाल घुम्न आएका छन् । अब बाँकी रहेका दुई महिना अफ सिजन भएकाले त्यो तथ्यांकले ११ लाख ननाघ्ने देखिन्छ ।

पर्यटक ल्याउन मात्रै समस्या छैन, आएका पर्यटकलाई गतव्यसम्म पुर्‍याउन पनि उत्तिकै कठिनाइ छ । त्यसमाथि जलवायु परिवर्तनका कारण बेला-बेला आउने विपत्तिले समेत नेपालमा पर्यटक भित्र्याउन कठिनाइ सिर्जना भइरहेको छ ।

सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेपछि लगानी बढाएका व्यवसायी अहिले पर्यटक नबढ्दा चिन्तित छन् । पर्यटकीय गन्तव्यको विकास गर्न भन्दै निजी क्षेत्रले गाउँगाउँमा पूर्वाधार विकास गरे पनि सरकारले सडक पूर्वाधारलाई स्तरीय बनाउन नसक्दा नेपाल आएका पर्यटक त्यहाँसम्म पुग्न सकेका छैनन् ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement