बैंकमा पैसा छ, ऋण लिने मान्छे छैनन्

ब्याजदर घट्दा पनि व्यवसायीले लिएनन् ऋण
राष्ट्र बैंकले आफ्नै खर्च बढाएर बैंकबाट पैसा तान्दै
कार्तिक १६, २०८१ |सुदिल पोखरेल
बैंकमा पैसा छ, ऋण लिने मान्छे छैनन्

काठमाडौं । कात्तिकपछि बैंक तथा वित्तीय संस्थाबाट कर्जा जान कम भएको छ । बजारमा कर्जाको माग नभएर बैंकमा लगानीयोग्य रकम थुप्रन थालेपछि ब्याजदर थप तल जान नपाओस् भनेर राष्ट्र बैंकले ब्याज दिएर बैंकबाट पैसा तान्ने क्रम पनि बढेको छ । जसले राष्ट्र बैंकको खर्च बढाएको छ ।

चाडपर्व लागेपछि बैंक तथा वित्तिय संस्थामा ऋण लिनेहरु झनै घटेका छन् । तर रेमिट्यान्स तथा अन्य बचत रकम बैंकमा आउँदा निक्षेप बढेको छ । त्यसले थप ब्याजदर नघटोस् भनेर राष्ट्र बैंकले बजारबाट पैसा खिचिरहेको छ । साउन १० गते राष्ट्र बैंकले बजारबाट खिचेको रकम ३ खर्ब ५६ अर्ब थियो ।

त्यसपछि बिस्तारै कर्जा बढेकाले भदौ ११ मा यस्तो रकम ३ खर्ब १० अर्ब र असोज १० मा अझै कर्जा बढेका कारण २ खर्ब ६० अर्बसम्म ओर्लियो । तर कात्तिकमा कर्जा जाने क्रम सुस्त भएपछि फेरि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाबाट तानेको रकम ३ खर्ब १३ अर्ब पुगेको छ । चाडपर्व, घट्दो सेयरबजार र आयातमा पनि कमी आएकाले पनि त्यसको असर कर्जा प्रवाहमा पुगेको हो ।

अहिले बैंकहरुमा ६६ खर्ब बराबरको निक्षेप छ भने ५२ खर्ब ७३ अर्ब हाराहारीमा कर्जा गएको छ । निक्षेप रकमको ९० प्रतिशतसम्म बैंकहरुले बजारमा कर्जा दिन पाउछन् । तर अहिले बैंकहरुले निक्षेपको ७८ दशमलव दुई सात प्रतिशत हुन आउने रकममात्रै बैंकमा कर्जा दिएका छन् । 

यसरी हेर्दा बैंकमा ७ खर्ब ७४ अर्ब बराबरको लगानी योग्य रकम थुप्रिएको छ । तर, बैंकहरुले यसअघि गरेको लगानीको नियमित किस्ता र ब्याज आउन नसक्दा खराब कर्जा बढेको छ । जसका कारण बैंकहरुको ऋण दिने क्षमता अहिले ५ खर्ब हाराहारी रहेको राष्ट्र बैंक बताउँछ । बैंकबाट कर्जा नजाँदा ब्याजदरलाई निश्चित सिमामा राख्ने जिम्मा पाएको राष्ट्र बैंकले बैंकहरुबाट पैसा खिचेर राख्दा साउन यतामात्रै १ अर्बभन्दा बढी खर्च भएको छ ।

सरकारले विकास निर्माणका काम अघि बढाउन नसक्दा त्यसले बजारमा कर्जाको माग बढाउन नसकेको हो । घरजग्गा कारोबारमा शिथिलता, उद्योगको उत्पादनमा आएको कमी र समग्र बजारमा देखिएको शिथिलताका कारण लगानीकर्ताहरु बैंकमा ऋण लिन गइरहेका छैनन् ।

जसका लागि सरकारले अब समयमै विकास निर्माण तथा बाढी पहिरोले पुर्‍याएको क्षतिपछिको पुनःनिर्माणमा तीव्रता दिन सके त्यसले बजारमा माग बढाउने र कर्जाको मात्रै माग हुने होइन समग्र अर्थतन्त्र पनि चलायमान हुन सहयोग पुग्नेछ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement