धनकुटा । करिब दुई सय ५० वर्षअघि देखिको पूर्वी पहाडी क्षेत्रको प्रशासनिक मात्र होइन, आर्थिक र व्यापारिक केन्द्र थियो धनकुटा । त्यसमा पनि तल्लो र माथिल्लो कोप्चे तथा बिहीबारे हाटमा सामान किनबेचका लागि पालो पर्खेर रात बिताउनुपर्थ्यो । समयक्रमसँगै यी ठाउँको व्यापार बाँडिएको छ । यहाँका चर्चित व्यापारिक स्थल दशैंमा समेत सुनसान भए ।
राणा, राजा, पञ्चायत र बहुदलीय व्यवस्थाका करिब २५० वर्ष धनकुटा पूर्वको शैक्षिक, आर्थिक र प्रशासनिक केन्द्र थियो । आजभन्दा ३० वर्ष अघिसम्म धनकुटाको तल्लो-माथिल्लोकोप्चे तेह्रथुम, भोजपुर, संखुवासभा, पाँचथर र खोटाङको मुख्य व्यापारिक केन्द्र थिए । स्थानीय व्यापारी भारतको कोलकाताबाट ल्याएर लत्ताकपडा, नुन, सुन, तेल, मटितेल र अरु दैनिक उपभोग्य सामान बिक्री गर्थे । भिडभाडका कारण पालो नपाएर उपभोक्ताहरूले सामान किन्न कै लागि बास बस्नु पर्थ्यो ।
बहुदल र गणतन्त्र स्थापनासँगै प्रशासनिक संरचनामा परिवर्तन आयो । गाउँगाउँ सडक खन्ने लहर चल्यो । सडकसँगै नयाँनयाँ ठाउँमा बस्ती र सहरीकरणको सुरुवात भयो । अढाई सय वर्षसाम्म पूर्वीपहाडको आर्थिक केन्द्र रहेको धनकुटाको ब्यापार पनि बाँडियो ।
धनकुटा सदरमुकामका बसपार्क, हुलाक टोल, ठाडो बजार, भीमनारायण चौकको व्यापार पनि तुलनात्मक रुपमा घटेको छ । दशकौंसम्म पूर्वको व्यापार धानेका तल्लो र माथिल्लो कोप्चे दशैंको पूर्वसन्ध्यामा पनि सुनसान देखिन्छन् ।
‘जता बाटो उतै व्यापार’ भनेझै, तल्लोकोप्चेका नाम चलेका व्यापारी, संघीय राजधानी काठमाडौं, विराटनगर, इटहरी र धरान झरे । किनमेलका लागि जम्मा हुने उपभोक्ता र यात्रीले खचाखच हुने तल्लोकोप्चेका चोक र गल्लीमा दशैंको संघारमा पनि सन्नाटा छ ।