वीरगन्जको कृषि औजार कारखाना सञ्चालनमा राष्ट्रिय आविष्कार केन्द्रको जोड

औजारको व्यावसायिक उत्पादन गर्ने तयारी
आश्विन २७, २०८१ |उपेन्द्र ठाकुर
वीरगन्जको कृषि औजार कारखाना सञ्चालनमा राष्ट्रिय आविष्कार केन्द्रको जोड

वीरगन्ज । वीरगन्जस्थित कृषि औजार कारखाना यतिबेला कृषि औजारहरूको व्यावसायिक उत्पादनको तयारीमा छ । २०५९ सालदेखि बन्द कृषि औजार कारखाना सञ्चालनको जिम्मा पाएको राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकहरू यतिबेला कृषि औजारको व्यावसायिक उत्पादनमा जोडतोडका साथ जुटेका हुन् ।

वीरगन्ज कृषि औजार कारखाना सञ्चालनको जिम्मा पाएसँगै आविष्कार केन्द्रका प्राविधिकले पहिलो चरणमा कारखानाको सरसफाइ र दोस्रो चरणमा मेशिनहरूको मर्मत सम्भार गरी कुटो, कोदालो जस्ता परम्परागत औजार उत्पादन गरेका थिए । आविष्कार केन्द्रका प्राविधिकहरू यतिबेला धान रोप्ने राइस प्लान्टर, धान काट्ने रिपर, धान गोड्ने, खन्ने काम गर्ने विडर, धान झार्ने थ्रेसर, आलु रोप्ने प्लान्टर, आलु खन्ने डिगर, कोदो काट्ने कटर, प्लास्टिक बनाउने मल्चर, गोबर पेल्ने डङग डिवाटरिङ, र सुख्खा घाास काट्ने जस्तो मेशिनहरूको उत्पादनको सफल परीक्षण गरिसकेका छन् । 

केराको थामबाट फाइबर उत्पादन गर्ने मेशिन उत्पादनको समेत केन्द्रले सफल परीक्षण गरिसकेको छ । सरकारले सम्झौता गरेको रकम उपलब्ध नगराएकै कारण सुरुमा केही समस्या भएको यहाँका प्राविधिकहरू बताउँछन् । अबको केही महिनाभित्रै कृषि औजारहरूको व्यावसायिक उत्पादन थालिने केन्द्रले जनाएको छ ।

२०२४ सालमा सञ्चालन भएर २०५९ सालदेखि बन्द वीरगन्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनका लागि २०७९ भदौ ३१ गते मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएको हो ।

कारखाना सञ्चालनका लागि लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने गरी यो कारखाना राष्ट्रिय आविष्कार केन्द्रले १० वर्षसम्म आफैँले सञ्चालन गर्ने र पछि सरकारलाई हस्तान्तरण गर्ने सम्झौतामा भएको थियो । तर कारखाना सञ्चालनका लागि लाग्ने पहिलो वर्षको झन्डै एक करोड रुपैयाँ सरकारले अनुदानमा उपलब्ध नगराएर ऋणमा उपलब्ध गराउने भएपछि राष्ट्रिय आविष्कार केन्द्र ऋण लिन पछि हटेको हो । रकम अभावले कारखाना सञ्चालनमा समस्या देखिएपछि रकमको जोहो गर्न आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनः आफ्नो आत्मकथाको किताब बिक्री गर्दै यतिबेला मेची महाकाली दौडाहामा हुनुहुन्छ ।

अहिलेसम्म झन्डै एक लाख तीस हजारभन्दा बढी किताब बिक्री गरिसकेको आविष्कार केन्द्रले किताबबाटै करिब २० करोड रुपैयाँ संकलन गरी कारखाना सञ्चालन गर्ने तयारी छ । कारखानालाई यो अवस्थासम्म पुर्‍याउन अहिलेसम्म झन्डै दुई करोड ५० लाख रुपैयाँ खर्चिसकेको राष्ट्रिय आविष्कार केन्द्रले पहिलो चरणमा कम्तीमा २० किसिमको कृषि औजारहरूको व्यावसायिक उत्पादन गर्ने लक्ष्य लिएको छ । 

जसका लागि पुरानो मेशिनहरू मात्रै पर्याप्त नभएकोले केही आधुनिक मेशिनहरू पनि खरिद गर्ने क्रममा अहिले फलामलाई विभिन्न आकारमा काट्ने झन्डै ५० लाख रुपैयाँ मूल्य बराबरको स्वचालित सिएनसी लेजर मेशिन खरिद गरी भित्र्याएको छ । 


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।