दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण कार्य तीव्र, ४० प्रतिशत काम सकियो

भाद्र ५, २०८१ |चक्र भण्डारी
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण कार्य तीव्र, ४० प्रतिशत काम सकियो

दैलेख । भैरवी गाउँपालिका जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ड्रिलिङको काम ४० प्रतिशत सकिएको छ । ४ महिना अवधिमा काम सक्ने गरी गत जेठदेखि ड्रिलिङ सुरु गरिएकोमा कडा चट्टानका कारण काममा केही समय ढिला भएको थियो । चिनियाँ र नेपाली विज्ञ टोली ३ महिनायता दिनरात नै पेट्रोलियम पदार्थको अन्वेषणमा खटिइरहेका छन् ।

दैलेखको भैरवी गाउापालिकाको जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि चिनियाँ र नेपाली टोली ३ महिनादेखि २ सिफ्टमा खटिइरहेको छ । सदियौंदेखि अनवरत रुपमा पानीमाथि आगो बल्दै आएको दैलेखको सिरस्थान, नाभिस्थान र पादुका क्षेत्र धार्मिक तथा सांस्कृतिक केन्द्र पनि हो । 

वर्षौंदेखि ज्वाला बलिरहेका यी स्थानमा पेट्रोलियम पदार्थ भएको अनुसन्धानले देखिएपछि अन्वेषण थालिएको हो । जसका लागि गत वर्ष जग्गाको मुआब्जा वितरण तथा संरचना निर्माण गरिएको थियो भने चीनदेखि अन्वेषण सामग्री ल्याइएको थियो । 

४ महिनामा काम सक्ने लक्ष्यका साथ ड्रिलिङ थालिएकोमा जमिनमुनि कडा चट्टानका कारण १ महिना ढिला हुने अनुमान गरिएको छ । ४ हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नु पर्नेमा हालसम्म १ हजा ६ सय ६६ मिटर ड्रिलिङ भइसकेको खानी तथा भूगर्भ विभागका सिनियर डिभिजन भूगर्भविद् सुरेश श्रेष्ठले बताउनु भयो ।

अहिले विज्ञहरुले २-२ मिटर गहिराइबाट निस्किएका ढुंगा र माटो परीक्षण गरी तथ्यांक संकलन गरिरेहका छन् । २७ सय मिटर ड्रिलिङ भएपछि सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी ३ वटा थप अध्ययन हुनेछ । खानी तथा भूगर्भ विभागका भूगर्भविद् विवश भट्टराईले पेट्रोलियम पदार्थ हुनका लागि तय गरेका आवश्यक मापदण्डअन्तर्गतका संकेतहरु सफलतापूर्वक प्राप्त भइरहेको बताउनु भयो ।

विज्ञहरुले अनुसन्धान तीव्र बनाउँदै जाँदा स्थानीय पनि उत्सुक देखिएका छन् । नेपाली र चिनियाँ टोलीको यस अनुसन्धान पूर्ण सफल हुनेमा स्थानीय ढुक्क छन् ।

चीन सरकारको २ अर्ब ५० करोड रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो । भूगर्भविद्हरुले ४ हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछि पेट्रोलियम पदार्थ पत्ता लाग्ने बताएका छन् । अन्वेषण सफल भए देशको आर्थिक अवस्था सुधार हुनुका साथै ठूलो संख्यामा रोजगारी सृजना हुने अपेक्षा गरिएको छ ।


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।