काठमाडौं । नेपाली मुद्राको तुलनामा डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । भारतमा अमेरिकी डलरको माग उच्च भएपछि भारतीय रुपैयाँको मूल्य तल झरेको छ भने डलरको मूल्य बढेको छ । भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमय दरका कारण भारतीय मुद्राको मूल्य घटेसँगै नेपाली मुद्रा पनि तल झरेको हो । यसले नेपालमा महँगी तथा व्यापार घाटा बढ्ने र विकास निर्माणको लागत महँगो हुने देखिएको छ ।
अमेरिकी अर्थतन्त्र मजबुत भइरहँदा भारतमा लगानी गरेकाहरूसमेत अमेरिका जान खोजिरहेका छन् । जसका लागि नै भारतमा अहिले डलरको माग उच्च भएको छ । अमेरिकी अर्थतन्त्रमा लगानीकर्ताको विश्वास बढ्दै जाँदा त्यसले भारुको मूल्य घटाएको छ । भारतसँगको स्थिर विनिमय दरका कारण नेपाली मुद्राको मूल्य पनि घट्दै गएको छ । २०७४ को साउनमा एक डलर बराबर नेपाली मुद्रा १ सय २ रुपैयाँ ५९ पैसा थियो ।
२०७८ मा यो बढेर १ सय १९ रुपैयाँ पुग्यो । मंगलबारका लागि भने नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरका लागि १ सय ३४ नेपाली रुपैयाँको दर सार्वजनिक गरेको छ । जुन अहिलेसम्मकै उच्च हो । २२ दिनमै नेपाली मुद्राको मूल्य ४० पैसा घटेको छ । यसले नेपालमा महँगी बढाउने र विकास निर्माणको लागत बढाउने देखिएको छ ।
नेपालले कैयन बस्तु विदेशबाट आयात गर्छ । खाद्यान्न, लत्ताकपडासँगै विकास निर्माण र डिजेल, पेट्रोलका लागि बर्सेनि १६ खर्ब भन्दा बढी रकम बाहिरिन्छ । अब विदेशी मुद्रामा खरिद गर्नुपर्ने सामान आयात गर्दा बढी नेपाली मुद्रा खर्चनुपर्नेछ । जसले गर्दा व्यापार घाटा बढ्न सक्छ । आयात महँगो हुँदै जाँदा यसले विदेशी मुद्रा सञ्चितिमा पनि असर गर्नुका साथै महँगीसमेत बढाउने देखिएको छ ।
निर्यात बढाउँदा मुलुकले बढेको विदेशी मुद्राको लाभ लिन सक्थ्यो । तर, न्यून निर्यात र निर्यातित बस्तुको कच्चा पदार्थ फेरी डलरमै आयात गर्नुपर्ने भएकाले यसको लाभ मुलुकले लिन नसक्ने विज्ञ बताउँछन् ।
डलर महँगिँदा विदेशबाट आउने रेमिट्यान्स भने बढ्न सक्छ । र, पर्यटकहरू नेपालमा आउँदा सस्तो पर्छ, जसले पर्यटक आगमन बढाउन सक्छ । तर, विदेशी ऋणको ब्याज र सावाको किस्ता महँगो हुने भएको छ । डलरको भाउ बेफाइदा मात्रै होइन, केही लाभ पनि छन्, जसका लागि अब सरकारले निर्यात र पर्यटनमा जोड दिनुपर्ने देखिन्छ ।