नीतिगत अस्थिरता, नेपाललाई ६ वर्षभित्र दिगो विकासको लक्ष्य भेटाउन कठिन

कमजोर आर्थिक सूचकसहितको समीक्षा प्रतिवेदन भोलि राष्ट्रसंघमा पेस गरिँदै
असार ३०, २०८१ |सुमन पन्थ
नीतिगत अस्थिरता, नेपाललाई ६ वर्षभित्र दिगो विकासको लक्ष्य भेटाउन कठिन

काठमाडौं । नेपालले सन् २०३० सम्म सबै प्रकारका गरिबी तथा भोकमरीको अन्त्य र आर्थिक वृद्धिलगायत दिगो विकासका लक्ष्य लिएको थियो । लक्ष्यअनुसार सामाजिक सूचक सकारात्मक रहे पनि आर्थिक सूचकमा अपेक्षित प्रगति हुन सकेको छैन । नेपालको औसत प्रगति ४१ प्रतिशत मात्र छ । राजनीतिक तथा नीतिगत अस्थिरता र विश्वव्यापी आर्थिक मन्दीका कारण दिगो विकासका लक्ष्यमा प्रगति हुन नसकेको विज्ञहरुको भनाइ छ ।

दिगो विकास लक्ष्य पूरा गर्न तोकिएको अवधि ६ वर्ष मात्रै बाँकी छ । तर सामाजिक क्षेत्रमा उल्लेख्य प्रगति भए पनि आर्थिक क्षेत्रमा भने नेपालको प्रगति कमजोर रहेको प्रतिवेदनले देखाएको छ । प्रभावकारी रणनीति र कार्यान्वयन नभए लक्ष्य प्राप्ति कठिन हुने नेपालले नै तयार पारको प्रतिवेदनले देखाएको हो ।

राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक फोरममा नेपालले तेस्रो स्वेच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत गर्न लागेको हो । नेपालले मातृ मुत्युदर, विद्यालय भर्ना, राजनीतिमा महिला सहभागिताजस्ता सामाजिक विषयमा उल्लेख्य सफलता हासिल गरेको छ । तर अल्पविकसित मुलुकहरुले हासिल गर्नुपर्ने ७ प्रतिशतको आर्थिक वृद्धि, रोजगारी सिर्जनाजस्ता आर्थिक सूचकमा भने प्रगति हासिल गर्न नसकेको रिपोर्ट नेपाल तयार पारेको छ ।

दिगो विकास लक्ष्यको कार्यसूचीअन्तर्गत १७ वटा लक्ष्य, १६९ परिमाणात्मक लक्ष्य र २३४ वटा विश्वव्यापी सूचक छन् । विज्ञहरुले साउन १ गतेदेखि कार्यान्वयनमा आउन लागेको १६औं पञ्चवर्षीय योजनाले लिएका लक्ष्य पनि दिगो विकासका लक्ष्यसँग जोडिएको बताएका छन् । तर, आर्थिक सूचक बलियो बनाउन स्थिर सरकार आवश्यक रहेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पुष्पराज कँडेलको भनाइ छ ।

कोरोना महामारी, रुस-युक्रेन युद्ध, विश्वव्यापाी आर्थिक मन्दीजस्ता कारण दिगो विकासको लक्ष्यमा अपेक्षित प्रगति हुन नसकेको सरकारको तर्क छ । सन् २०३० सम्म पूरा गर्नुपर्ने दिगो विकासका लक्ष्य प्राप्तिका लागि अब ६ वर्ष मात्र बाँकी छ । अब लक्ष्य प्राप्तिको दिशामा अघि बढ्न सरकारले प्रभावकारी रणनीति अवलम्बन गर्नैपर्छ ।

हेर्नुहोस् सुमन पन्थका थप स्टोरी ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement