कांग्रेस-एमालेको सत्ता सहकार्य, सेयरबजार निरन्तर उकालो

असार २९, २०८१ |भरत रावल
कांग्रेस-एमालेको सत्ता सहकार्य, सेयरबजार निरन्तर उकालो

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यको सहमति भएसँगै बढ्न थालेको सेयर बजार त्यसयता निरन्तर बढ्दो क्रममा छ । सेयर बजार एक सातामै झन्डै दुई सय अंकले बढिसकेको छ । तर सरकार परिवर्तनका नाममा बढेको यो बजार कतिको दिगो हुन्छ भन्ने चासो पनि उत्तिकै छ ।

सरकार परिवर्तन हुने निश्चित भएसँगै बढ्न थालेको सेयर बजार २२ सय अंक भन्दामाथि पुगेको छ भने कारोबार रकम पनि बढेको छ । कांग्रेस र एमालेबीच सहमति हुने दिन असार १७ गते दुई अर्बको कारोबार भएकामा २७ गते बिहीबार ६ अर्ब ८१ करोडको कारोबार भएको छ ।

असार १७ यता कारोबार भएका आठ दिनमा सात दिन सेयर बजार बढेको छ । एक दिन पनि झिनो अंकले मात्रै घटेको छ । नयाँ सरकारप्रति सेयर बजार सकारात्मक हुनुका साथै पर्याप्त तरलता तथा एकल अंकको व्याजदरलगायत कारण पनि बजार बढेको सेयर विश्लेषक अनलराज भट्टराईको बुझाइ छ ।

ठुला दुई दल मिलेर सरकार बनाउँदा आर्थिक स्थायित्व आउने र राष्ट्र बैंकका गभर्नरसँगको सहकार्य पनि राम्रो रहने अपेक्षाका कारण बजार माथि जाने संकेत देखिएको हो । तर लगानीकर्ता भने सरकार परिवर्तनले मात्रै सेयर बजार नबढ्ने बताउँछन् । सेयर बजारलाई संकुचन गर्ने २०७८ सालको मौद्रिक नीति परिवर्तन नहुँदासम्म बजार नबढ्ने नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालको धारणा छ ।

सरकार परिवर्तनले सेयर बजारमा केही सकारात्मक संकेत देखिए पनि अर्थतन्त्रमा आएको संकुचनले उद्योग र व्यापार क्षेत्र धरासायी छ । त्यसको असरले खराब कर्जा बढ्दा बैंकको नाफामा गिरावट आएको छ । सेयर बजारको वृद्धिलाई दिगो बनाउने हो भने लगानीकर्ताको मनोबल बढाउनुको साथै नीतिगत सुधार गर्न पनि जरुरी छ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।