‘कर्णालीमा लगानीको लगन कहिले आउँछ ?’

फाल्गुन ६, २०८० |कान्तिपुर टीभी संवाददाता
‘कर्णालीमा लगानीको लगन कहिले आउँछ ?’

काठमाडौं । कर्णालीमा लगानीको लगन कहिले आउँछ ? कर्णालीवासीले कर्णालीमा लगानीको लगन आउन अझै कति कुर्नुपर्ने हो ? कर्णाली उत्सव ‘कुडा कर्णालीकाको’ लगानीको लगन सत्रमा आइतबार पत्रकार गोविन्द खत्रीले वक्ताहरुलाई यही प्रश्न गरे ।

यो सत्रका वक्ताहरू थिए, कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल ।

मन्त्री सिंहले कर्णालीमा पूर्ण रूपमा लगानी मैत्री वातावरण बन्न बाँकी रहेको स्वीकारे । कर्णालीमा लगानीका लागि लगन पर्खिराख्न पर्ने अवस्था भने नरहेको उनले पनि कर्णालीमा पूर्ण रुपमा लगानीमैत्री वातावरण बन्न नसकेको उनको भनाइ छ । ‘कर्णालीले संघीयतापछि जल, जंगल, जमिन उपभोगको यात्रामा छ,’ उनले भने, ‘ठूलो भूगोल र सीमित स्रोत-साधनले गर्दा अहिले नै नागरिकले देखिने र महसुस गर्ने गरी लगानीमैत्री वातावरण बन्न नसकेको अवस्था होला । तर पनि साबिकको मध्यपश्चिम र आजको ६ वर्ष पछिको कर्णाली नागरिकले महसुस गर्न सक्छन् ।’

अहिले प्राप्त भएको पहुँचलाई संस्थागत विकास गर्दै अब कर्णालीमा आवश्यकताका आधारमा कर्णालीका साधन र स्रोतको सहि ढंगले प्रयोग गर्न अझै आवश्यक रहेको उनले बताए । यसका लागि सरकारका तर्फबाट गर्ने प्रयासहरू अघि बढाएको उनको भनाइ थियो ।

नीतिगत कुराको कमीका कारणले लगानी गर्ने दाताहरुले लगानी गर्न नसकेको हो कि भन्ने कुरा सरकारको पनि बुझाइ रहेको मन्त्री सिंहले बताए । ‘यो वर्ष वैशाख १९ र २० गते कर्णाली लगानी विकास सम्मेलनको आयोजना गरिएको छ । उनले भने, ‘यसले निजी क्षेत्रले आफ्नो लगानीको सुरक्षा, लगानीमैत्री वातावरण, लगानीयोग्य क्षेत्र पहिचान गर्ने गरी प्रस्तावहरु तयार गरेर त्यो सम्मेलनमा सहभागी बन्दै छौं । दाताहरुले पनि लगानीको प्रतिफल र सुरक्षाको कुरा ग्यारेन्टी गर्ने गरी सम्मेलनको तय हुँदै छ ।’

व्यवस्था परिवर्तनपछि कर्णालीले विकासको जग बसालेको उनको भनाइ थियो । कर्णाली र भेरी करिडोर सम्पन्न भयो भने विकासको पूर्वाधारको जग पूर्ण हुने विश्वास उनको थियो । त्यसपछि लगानीमैत्री वातावरण सहज बन्न सक्ने उनले बताए । सुन्दरता र आकर्षणका हिसाबले सबैभन्दा महत्त्व राख्ने भूमि कर्णाली रहेको छ । उनले भने, ‘कर्णालीमा लगानी गर्न चाहने निजी क्षेत्रका लागि सम्भावना धेरै छन् ।’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पनि लगानीका लागि लगन कुरिराख्न पर्ने अवस्था नभएको बताए । तर कर्णालीको चुनौती भौतिक पूर्वाधार रहेको छ । उनले भने, ‘कर्णालीमा भौतिक चुनौती प्रमुख कारण हो भन्ने मलाई लाग्छ । यहाँ लगानी गर्न खोज्ने उद्योगीले भौतिक चुनौती भोग्नुपरेको मैले बुझेको छु ।’ व्यवसायका लागि पूर्वाधार ठूलो आधार भएकाले २०७४ पछि राजनितीक परिवर्तन भए पनि उद्योग क्षेत्रले आश गरेको कुरा आर्थिक परिवर्तन हुन नसकेको बताए । व्यावसायिक वातावरण बनाउन नसकेको र आर्थिक पाटोलाई प्रशय दिन नसकेकाले लगानीको वातावरण बन्न नसकेको उनको भनाइ थियो ।

निजी क्षेत्रलाई विश्वास गरेर साथ लिने हो भने लगानी गर्न तयार रहेको उनले बताए । ‘व्यवसायीले नीतिगत कुरामा स्पष्टता खोजेका हौं । सरकारका नीति नियमहरु स्पष्ट हुन पर्‍यो । लगानीका लागि एउटै नीतिले केही वर्ष काम गर्न पर्‍यो,’ उनले भने ।

बैंकले पनि कर्णालीमा गरेको लगानी सबैभन्दा कमजोर देखिएको भन्दै नबिल बैंकका अध्यक्ष पौडेललाई सहजकर्ताले प्रश्न गरे ।

पौडेलले भने, ‘बैंक भनेको पानी हो । जतातिर ओरालो र सम्भावना छ त्यतैतिर बग्छ । यसलाई कुलो बनाएर कर्णालीले ल्याउन सक्नपर्छ । त्यसका लागि व्यवसाय गर्ने वातावरण हुन जरुरी देखिन्छ । व्यवसाय भएपछि बैंकहरु आउँछन् ।’

वातावरण बनाउन बैंकहरू पनि लाग्नुपर्ने उनको भनाइ थियो । दिएको पैसा फिर्ता आउँछ भन्ने लागेपछि जहाँ गएर पनि लगानी गर्न सक्ने उनले बताए । ‘दूरदराजमा पनि बैंकहरु पुगेका छन्,’ उनले भने, ‘बैंकले सहयोग गर्नका लागि लिने मान्छे आउन जरुरी छ ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.