ताप्लेजुङ । कोभिडको समयमा लगाएको चिराइतो बिक्री हुन नसकेपछि निरास भएका ताप्लेजुङका किसानले त्यसपछि चिराइतो खेती छोड्दै गए । त्यसकै असर अहिले चिराइतो उत्पादन कम भएको छ भने माग र मूल्य भने बढ्दै गएको छ ।
फक्ताङलुङ गाउँपालिका–४ सुङसाबुका अमर लिम्बूले विगतमा ३५ मनसम्म चिराइतो उत्पादन गर्थे । यस वर्ष उनले ७ मन मात्र चिराइतो उत्पादन गरे । ओलाङचुङगोला नजिकै रहेको चीनसँगको टिप्ताला नाका कोभिडदेखि नै बन्द भएर नखुलेपछि किसानलाई चिराइतो निकासीमा पनि कठिनाइ भयो । जसले गर्दा किसानहरुले उत्पादन घटाउँदै लगे ।
ताप्लेजुङसँगै तेह्रथुम, पाँचथर र इलाममा समेत उत्पादन भएको चिराइतो ओलाङचुङगोला हुँदै चीनमा निर्यात हुने गरेको थियो । अहिले किसान र व्यापारीले ताप्लेजुङमा उत्पादित चिराइतो झापाको बिर्तामोड पुर्याउने गरेका छन् । कोभिड–१९ का कारणले बन्द भएको टिप्ताला नाका अहिलेसम्म खुलेको छैन । नाका बन्द हुँदा आफूले उत्पादन गरेको चिराइतोले लामो समय बजार नपाएपछि धेरै किसान चिराइतो खेती छोडेर अन्य पेसाको खोजीमा जुटे ।
अहिले भने चिराइतोको माग बढ्दै गएको छ । औषधिका रुपमा प्रयोग हुने जडीबुटी चिराइतोको मूल्य यो वर्ष ताप्लेजुङमै एक मनको ४५ हजार रुपैयाँमा कारोबार भएको छ । सुङसाबुका किसान अमर लिम्बुका अनुसार गाउँमा विगतमा एक सय मनभन्दा बढी चिराइतो उत्पादन हुनेमा यस वर्ष ४५ मनको हाराहारीमा मात्र उत्पादन भएको छ ।
गाउँमा उत्पादित चिराइतो बजारसम्म लैजान डिभिजन वन कार्यालयमा प्रतिकिलो १५ रुपैयाँ राजस्व बुझाउनुपर्छ । चालु आर्थिक वर्षमा ताप्लेजुङबाट ५ हजार ८ सय २० केजी चिराइतो निकासी भएको छ । वन कार्यालयको तथ्याङ्कअनुसार ताप्लेजुङमा आर्थिक वर्ष २०७७/०७८ मा १६ हजार ३ सय केजी चिराइतो सङ्कलन भएको थियो ।
नेपालमा कूल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ । यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने गरेको छ । बाँकी २० प्रतिशत चीन, स्विडेन, हल्यान्ड, मलेसिया, सिङ्गापुर, जर्मनी, इटाली, फ्रान्स, स्विजरल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, अमेरिका लगायत देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ ।
झार वर्गको यो वनस्पति सङ्कलनका लागि २८ महिनामा मात्रै योग्य हुने गरेको छ । तर, एक पटक लगाएपछि बर्सेनि लगाउनु भने पर्दैन । पाकेको फूल आफैँ झर्छ र त्यहीँ उम्रन्छ । पहिलो वर्ष काण्डवृद्धि नभई त्यसबाट पात पलाई मूलाजस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउने र यसमा फूल फुल्ने र बीउ लाग्ने किसान बताउँछन् ।
वनस्पति विभागका अनुसार नेपालको पूर्वी भेग ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुरदेखि मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरा लगायतका पाहाडी जिल्लामा प्राकृतिक रूपमै चिराइतो हुने गर्दछ ।