औंसे र पतेरो लागेर बोटबाटै झर्न थाले सुन्तला, किसान चिन्तित

किरा फैलिन नदिन झरेको फल संकलन गरी प्लास्टिकमा बन्द राख्न कृषि प्राविधिकको सुझाव
मंसिर १२, २०८० |रोशन लामिछाने
औंसे र पतेरो लागेर बोटबाटै झर्न थाले सुन्तला, किसान चिन्तित

स्याङ्जा । पुतलीबजार नगरपालिका स्याङ्जाका मुक्ति अधिकारीलाई फूल खेलेर बतिला लाग्नेबेला परेको असिनापानीबाट जोगिएको सुन्तला बेचेर राम्रै आम्दानी हुन्छ भन्ने लागेको थियो । तर पाक्नै लागेको सुन्तलामा औंसे किरा र पतेरो लागेर फल खस्न लागेपछि उनी निराश छन् ।

‘यो समस्या अहिले जिल्लाका प्राय: सबै किसानले भोगिरहेका छन्,’ उनले भने ।

स्याङ्जामा धनकुटाको खोकु र स्थानीय जातका सुन्तला पाकेर बगैंचा लटरम्म हुन थालेका छन् । तर यहीबेला फल धमाधम झर्न थालेपछि किसानले प्राविधिक गुहारेका छन् । खसेका सुन्तला जम्मा गर्न प्लास्टिक वितरण गरिएको सुन्तला सुपरजोन कार्यालयले जानकारी दिएको छ ।

कार्यालय प्रमुख माधव लम्सालका अनुसार सुन्तलामा रोग तथा किरा फैलिन नदिन झरेको फल प्लास्टिकमा राखी मुख बन्द गर्नुपर्ने हुन्छ ।

जिल्लामा २१ सय हेक्टरमा सुन्तला खेती हुँदै आएको छ । स्याङ्जामा गत वर्ष २२ हजार टन सुन्तला उत्पादन हुँदा किसानले एक अर्ब ३८ करोड रुपैयाँ कमाउन सफल भएका थिए । यस वर्ष असिनापानीका कारण फल पातलो भएकाले उत्पादन घट्नसक्ने आकलन भइरहँदा किराको प्रकोप देखिएको छ ।

पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिकासहित फेदीखोला, बिरुवा, अर्जुनचौपारी, आँधीखोला र हरिनास सुन्तला उत्पादनका पकेट क्षेत्र हुन् । जिल्लाभरका १५ हजार घरधुरी किसानका ५ हजार बढी साना ठूला सुन्तलाका बगैंचा छन् ।


Image

रोशन लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनका स्याङ्जा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement