मधेशमा वार्षिक १२ लाख टन तरकारी उत्पादन, उचित मूल्य नपाउँदा किसान मर्कामा

मंसिर १२, २०८० |अमरकान्त ठाकुर
मधेशमा वार्षिक १२ लाख टन तरकारी उत्पादन, उचित मूल्य नपाउँदा किसान मर्कामा

धनुषा । धान रोप्ने बेलामा पर्याप्त पानी नपरेपछि मधेश प्रदेशका किसानले खेत बाँझै राख्नुभन्दा तरकारी लगाउनु उचित ठानेर काउली खेती गरे । बर्खे सिजनको काउली टिपेर उनीहरुले हिउँदका लागि खेतमा फेरि तरकारी लगाइसकेका छन् । किसानले काउली, भन्टाको उत्पादन बढाए पनि त्यसको उचित मूल्य नपाउँदा लागत जुटाउनसमेत समस्या छ ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको तुल्सियाहीका ३५ वर्षीय उमेशकुमार महतो अहेबको जागिर छोडेर एक दशकदेखि गाउँमै कृषि फार्म सञ्चालन गरिरहेका छन् । यो बर्खामा पर्याप्त पानी नपरेपछि उमेशले आफ्नो तीन बिघा खेतमध्ये डेढ बिघामा तरकारी र डेढ बिघामा बीउबिजन उत्पादन गरे । उनको खेतमा यस वर्ष काउली, भन्टा, मुला लगायतको तरकारी धेरै फल्यो तर भनेजस्तो भाउमा नबिकेपछि उनी मर्कामा छन् ।

तरकारी उत्पादन बढे पनि किसानको लागतअनुसारको मूल्य नपाएको उनको गुनासो छ । उनले भने, ‘लागतअनुसारको मूल्य नपाउँदा किसान घाटामा गएका छन् ।’

महोत्तरीको मटिहानी नगरपालिकाको बरदाहा गाउँका अधिकांश परिवारले पनि धान रोप्न नसकेको खेतमा तरकारी लगाए । ३ सय ८० घरपरिवार रहेको यो गाउँको पाँच सय बिघामा थरीथरीको तरकारी लहलह छ । मल, बीउ र सिचाइको उचित प्रबन्ध हुने हो भने उत्पादन दोब्बर पार्न सकिने उनीहरु बताउँछन् ।

मटिहानीका किसान मोहम्मद मुकिम भन्छन्, ‘पानी नहुँदा बालीनाली नष्ट हुने गरेको छ । त्यसैले हामीलाई बोरिङ, लाइन र मोटर चाहिन्छ ।’

सरकारी सहयोग र अनुदान बिना नै तरकारी खेती गर्दै आएका यहाँका किसानले मल, बीउ र सिँचाइको अभाव भने वर्षै भरि झेल्नु परेको छ । यसैबीच सिचाइ सुविधाबाट बञ्चित किसानको लागि मटिहानी नगरपालिकाले पाँच करोड ४० लाखको लागतमा खेतखेतमा विद्युतीकरण योजना अघि सारेको मेयर हरिप्रसाद मण्डलले बताए ।

मधेश प्रदेशमा ८३ हजार ६ सय ५८ हेक्टरमा तरकारी खेती हुन्छ । जसबाट वाषिर्क १२ लाख १६ हजार ३ सय ३३ मेट्रिकटन तरकारी उत्पादन हुन्छ । तर प्रदेश सरकार कृषि क्षेत्रका समस्या प्रति गम्भीर नहुँदा बीउबिजन, मलखाद, सिचाइ तथा बजारीकरणको लागि ठोस पहल हुन सकेको छैन ।

आकासे पानीको भरमा तरकारी लगाउने किसानलाई भारतीय आयातीत तरकारीसँग प्रतिस्पर्धा गर्नु परिहेको छ । 


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।