बिकेनन् माटाका भाँडा

कार्तिक २१, २०८० |कमल पन्थी|रेजिना मल्ल
बिकेनन् माटाका भाँडा

बर्दिया । तिहार आउन अब धेरै दिन छैन । अघिल्ला वर्षहरुमा यतिखेर बर्दिया गुलरियाका कसगर समुदायलाई माटाका भाडा बनाउन भ्याइनभ्याई हुन्थ्यो । यसपालि उनीहरु काममा व्यस्त त छन् । तर अघिल्ला वर्षमा जस्तो धपेडी छैन । विद्युतीय सामग्रीले बजारलाई कब्जा गरेसँगै माटाका दियो कलश बनाउने पश्चिम तराईका कसगर समुदायको व्यस्तता घटेको हो ।

गुलरिया बजारमा राखिएको आधा दर्जन बढी माटाका सामग्री बेचबिखन गर्ने व्यवसायी छन् । उनीहरु सबै फुर्सदिला देखिन्छन् । तिहार लक्षित गरी उनीहरुले सामग्री सजाएर राखिसकेका छन् । तर व्यापार छैन ।

अघिल्लो वर्षसम्म राम्रौ व्यापार गरेको बताउने व्यवसायीहरु यसपालि निराश छन् । त्यसो त पछिल्लो ४/५ वर्षदेखि बढ्दो विद्युतीय सामग्रीका कारण माटाका सामग्रीको बिक्री घटेको गुलरिया ७ का व्यवसायी रहमत अली कसगरको भनाइ छ । ‘माटो ल्याउन पनि गाह्रो छ । पकाउन पनि गाह्रो छ । र बेच्न पनि गाह्रो भएको छ । त्यसैले आजभोलि घाटा बेहोर्नुपरेको छ,’ उनले भने ।

विगतमा माटो जताततै सित्तैमा पाइन्थ्यो । अहिले किन्न खोज्दा पनि पाइँदैन । माटाको भाँडामा प्रयोग हुने भुसी (भुस) पनि पाइँदैन । पहिले माटाका भाँडा बिक्री हुन्थ्यो । अहिले बोहनी हुन पनि निकै कुर्नुपर्ने खलिकुन निशाको गुनासो छ ।

‘पहिले माटो सित्तैमा पाइन्थ्यो । अहिले किन्दा पनि पाइँदैन । भुस, काठ सबै महँगो भइसक्यो,’ अर्का व्यवसायी मुराद कसगरले भने ।

विद्युतीय सामग्रीभन्दा माटाका पालाको छुट्टै धार्मिक महत्त्व रहने मान्यता पनि विस्तारै फेरिँदै गएको छ । त्यसो त पछिल्लो समय घर झिलिमिली बनाउन मानिसहरुले विद्युतीय सामग्रीमै आकर्षित हुने गरेका छन् । जसका कारण पश्चिम तराईका कसगर समुदायका मानिस रोजगारीको विकल्पतर्फ अग्रसर हुन थालेका छन् ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।

Image

रेजिना मल्ल

मल्ल कान्तिपुर टेलिभिजन बर्दियाकी क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement