बजार विस्तार गर्दै दुग्ध विकास संस्थान

कार्तिक ६, २०८० |कान्तिपुर टीभी संवाददाता
बजार विस्तार गर्दै दुग्ध विकास संस्थान

काठमाडौं । आन्तरिक बजारमा दुग्धजन्य वस्तु खपत कम भएपछि दुग्ध विकास संस्थानले आफ्ना उत्पादन क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा पठाउने तयारी गरेको छ ।

संस्थानले धुलो दूध, नौनी तथा घिउ निर्यातका लागि दूबई, मलेसिया, श्रीलंका, अष्ट्रेलिया र अमेरिकासम्म नमुना पठाएको छ । संस्थानका महाप्रबन्धक सञ्जीव झाका अनुसार अहिले पनि संस्थानसँग ३ सय टन बटर र ५ सय टन धूलो दूध छ ।

फ्रेस मिल्क, पनिरजस्ता वस्तुको निर्यातका लागि क्षेत्रीय बजारको खोजी भइरहेको उल्लेख गर्दै संस्थानले हाल झण्डै ६५ करोड रुपैयाँको उत्पादन मौज्दात रहेको जनाएको छ । उत्पादन बिक्री हुन नसक्दा दुग्ध विकास संस्थानले किसानको करिब ५५ करोड रुपैयाँ भुक्तानी गर्न सकेको छैन । उपभोक्ताको क्रय शक्ति कम हुँदा उत्पादन बिक्री गर्न समस्या भएको संस्थानका अधिकारीहरुको दाबी छ ।

दुग्ध विकास बोर्डका अनुसार नेपालमा दैनिक ५२ लाख लिटर दूध उत्पादन हुने गरेकोमा औपचारिक बजारमा करिब १० लाख लिटरमात्र आउने गरेको छ । त्यसमध्ये १ लाख ४० हजार लिटर दूध संस्थानले खरिद गर्ने गर्छ । करिब ३० लाख घर परिवार दूध उत्पादनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेको सरकारी तथ्यांक छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement