सोलुखुम्बुका उच्च भेगमा बुङको आलु खन्ने चटारो

भाद्र ३०, २०८० |भानुभक्त निरौला
सोलुखुम्बुका उच्च भेगमा बुङको आलु खन्ने चटारो

सोलुखुम्बु । आलु भन्ने बित्तिकै जुन ठाउँ रोपे पनि फलिहाल्छ भन्ने सबैलाई लाग्न सक्छ । तर बुङको आलु विशेष प्रजातिको छ । 

यो समुन्द्री सतहदेखि ३ हजार मिटर आसपासको जमिनमा मात्रै उत्पादन हुन्छ । हिमाली उच्च भेगमा खेती गरिने यो आलु खन्ने समय अहिले हो । सोलुका उच्च भेगका किसानले उत्पादन गरेका बुङ आलुको गुणस्तर र स्वादका कारण काठमाडौं र तराईसम्म माग बढेको छ ।

सोलुखुम्बु पत्तालेकी बबिता मगर अहिले बुङको आलु खन्नमा व्यस्त छिन् । उनीसँगै गाउँका अधिकांशले बुङको खेतीलाई प्राथमिकतामा राखेका छन् । यहाँको मुख्य आम्दानी नै आलु खेती हो । बुङको आलु विशेष तरिकाले खेती गर्छन् । हिउँ परेर बाँझो रहेको जमिनलाई खनेर चपरा निकालेर त्यसैको थुप्रो बिउ लगाउने गरिन्छ । त्यस्ता थुप्रोहरूलाई नै शेर्पाहरूले बुङ्ग भन्ने गरेका छन् । ६ महिना अगाडी रोपेको बुङ आलु खन्न अहिले सोलुका किसान व्यस्त छन् ।

यो आलु रोप्दा कुनै पनि मलको प्रयोग हुँदैन । लेकाली माटो र खरानीले नै मलको काम गर्ने हुनाले यहाँ फलेको अर्ग्यानिक आलु निकै स्वादिलो हुन्छ । हरेक वर्ष हिमपात सुरु हुनुभन्दा अगावै बुङ्ग खनेर चपराहरूको थुप्रो लगाइन्छ । त्यसपछि लगातार ४-५ दिन माटो डढ्ने गरी पोलेपछि मात्रै स्थानीय जातको आलु रोप्ने गरिन्छ ।

यस्ता जमिन एक पटक आलु खेती गरेपछि ५ वर्ष पछि मात्रै नयाँ खेती गर्न सकिन्छ । आलु बारीबाट खन्नासाथ प्रति क्विन्टल २५ हजार रुपैयाँमा सिधै काठमाडौं र तराईको इटहरी क्षेत्र जाने गरेको छ ।

बुङ्गको आलुको स्थानीय बजारमा पनि त्यतिकै माग छ । यसबाट बनिने आलुको रोटी, रेल्दोक जस्ता हिमाली परिकारहरू विशेष भएकाले पनि बजारमा यसको माग बढेको हो ।


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजन सोलुखुम्बु संवाददाता हुन् ।