बाजुरामा चामल अभाव

भाद्र २८, २०८० |कान्तिपुर टीभी संवाददाता
बाजुरामा चामल अभाव

बाजुरा । बाजुरामा चामल अभाव भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल सकिएको जनाएको हो ।

सदरमुकाम मार्तडीको डिपोमा भदौ २४ गतेदेखि नै चामल सकिएको खाद्य शाखा बाजुराले जनाएको छ । विपत् र जिल्ला कारागारका कैदीका लागि छुट्टाइएको १५० क्विन्टल चामल मात्रै बाँकी छ ।

सर्वसाधारणका लागि राखिएको चामल सकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखाका प्रमुख मेखराज ओझाले जानकारी दिए । दुर्गम हिमाली गाउँपालिकाको कबाडी भन्ने डिपो र मुक्तिकोटमा अस्थायी बिक्री केन्द्रमा पनि पाँच महिनादेखि चामल अभाव छ ।

डिपोमा रहेको मौज्दात चामल सकिएकाले ठेक्का प्रक्रियाबाट ढुवानी नहुन्जेलसम्म खाद्यान्न बिक्री वितरण कार्य बन्द गरिएको छ । जिल्लाको पूर्वी-उत्तरी भेकको कोल्टीमा बाँकी रहेको दुई सय क्वीन्टल चामल पनि एक सातालाई समेत नपुग्ने जनाइएको छ ।

ठेक्का बोलपत्र आहृवान साउन २१ गते सकिएको हो । ढिलासुस्ती भयो भने दसैंसम्म पनि चामल आउन नसक्ने ओझाको भनाइ छ । हिमाली गाउँपालिकामा खाद्यान्न संकट भएको पाँच महिना बितिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.