डिजेल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँले घट्यो : पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत्

जेष्ठ २, २०८० |कान्तिपुर टीभी संवाददाता
डिजेल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँले घट्यो : पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत्

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा मूल्य समायोजन गरेको छ । निगमले आज (मंगलबार) राति १२ बजेदेखि लागु हुने गरी मट्टीतेल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगम (एनओसी) लाई आज (मंगलबार) पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा र डिजेलमा ८ रुपैयाँ १३ पैसा प्रतिलिटरले घटेर आएको छ ।

सोहीअनुसार निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टीतेलमा १०/१० रुपैयाँ प्रतिलिटरले घटाउने निर्णय गरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखेको छ ।

आईओसीले डिजेल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १/१ महिनामा एनओसीलाई पठाउने गरेको छ । आईओसीले आफ्नो लागत तथा कच्चा तेलको मूल्यका आधारमा एनओसीलाई नयाँ मूल्यसूची पठाउँछ । अहिले पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री हुँदै आएको छ । अब प्रतिलिटर १० रुपैयाँ घटेसँगै डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य १५५ रुपैयाँ भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement