नवीनतम प्रयोग र कथावस्तुले रंगमञ्चमा युवाको आकर्षण (भिडियो रिपोर्ट)

फाल्गुन २१, २०७९ |विकास आचार्य
नवीनतम प्रयोग र कथावस्तुले रंगमञ्चमा युवाको आकर्षण (भिडियो रिपोर्ट)

काठमाडौं । मल्लकालदेखि प्रदर्शन हुँदै आएको रंगकर्ममा विस्तारै पाश्चात्य शैलीको प्रवेश भयो । रंगमञ्चबाट मञ्चन सुरु भएको नाट्य शैली परिष्कृत हुँदै आधुनिक नाट्यघर र कथावस्तुसम्म आइपुग्दा यसले दर्शकमा आर्कषण बढाउन थालेको छ । नेपाली रंगमञ्चमा देखिएको नवीनतम प्रयोग र कथावस्तीले नेपाली नाटकका समसामयिक कथावस्तुमा विविधता ल्याउनुका साथै युवालाई आकर्षित गरेको छ।

‘महिला र मदिरा डाइजेष्ट गर्न सकिनँ ।’

प्रेम, यौन र सामाजिक कुरीतिका रुपमा रहेको जातीय विभेदलाई मुख्य कथावस्तु बनाइएको नाटक विमोक्षको सानो अंश हो यो । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा प्रवीण खतिवडाद्वारा निर्देशित नाटक विमोक्षमा परिवर्तित समाजको चित्रण गरिएको छ ।

- ‘दोष त बोक्नै पर्‍यो नि अर्काकी स्वास्नी बोकेपछि’...

- ‘परीक्षाको विषय’...

पछिल्लो समय समाजमा आएको परिवर्तन एवं युवा मस्तिष्कलाई रंगमञ्चमा गरिएका प्रस्तुतीले सामाजिक परिवेशलाई नै उतारिरहेका छन् ।

समसामयिक विषयवस्तु, विभिन्न समुदायका संस्कृति र परम्परा अहिलेका नाटकका खास विधा बनाइने गरिएको छ । अझै नयाँ प्रयोग र कथावस्तुका लागि नाटककारहरु समाजको अध्ययनमा जुटेको नाट्यकर्मीको भनाइ छ ।

काठमाडौं उपत्यकामा शिल्पी, मण्डला, गुरुकुल, कौशी थिएटरलगायत एक दर्जनभन्दा बढी नाटकघर छन् भने उपत्यका बाहिर विराटनगर, बुटवल लगायतका क्षेत्रमा सुविधासम्पन्न नाटकघर सञ्चालित छन् । समाजका कुरीति र बेथिति विरुद्ध सचेतना फैलाउने सडक नाटक होउन् वा समाज रुपान्तरणका विषयवस्तु, नाटकले विशेष महत्व पाउने गरेको छ ।

नाट्य विधाको फराकिलो दायरामा पछिल्लो समय रंगमञ्चले युवाहरुलाई आकर्षित मात्रै गरेको छैन । वर्षमा ३५ देखि ५० वटासम्म नाटक मञ्चन हुँदै आएको काठमाडौं उपत्यकामा नाटकले युवा माझ नयाँ अवसर र क्षमतासमेत अभिवृद्ध गर्ने रंगमञ्चले समाजलाई डोहोर्‍याउने खँदिलो विषयवस्तु पस्किरहेका छन् । यसले दर्शकलाई नाटक घरसम्म पुर्‍याइरहेका छन् भने रंगकर्मीको कामले पनि प्रशंसा पाउने गरेको छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।