दोलखा । चीनसँग सीमा जोडिएको दोलखाको लप्चीका बासिन्दालाई बिरामी भइहालेमा सिटामोल खोज्न दुई दिन हिँड्नुपर्ने बाध्यता छ । सबै गर्भवतीलाई सुरक्षित प्रसूती सेवा दिने सरकारी लक्ष्यलाई स्वास्थ्य संस्था नै नदेखेका महिलाको वास्तविकताले व्यंग्य गरिरहेको छ । नेपाली भाषा राम्रोसँग बोल्न नसक्ने लप्चीका स्थानीयले सरकारी अधिकारीको अनुहार देख्न पनि साइत नै पर्खिनुपर्छ । चारैतिर हिमाल र पहाडले घेरिएको लप्ची उपत्यका जति सुन्दर छ, त्यहाँको दुःख भने त्यति नै विशाल छ ।
चारैतिर सेताम्मे हिमाल, बीचमा सानो सुन्दर उपत्यका । चीनसँग सीमा जोडिएको दोलखाको लप्ची गाउँ । सदरमुकाम चरिकोटबाट ६८ किलोमिटर सडक यात्रापछि लामाबगर पुगिन्छ भने त्यहाँबाट थप २ दिन पैदल यात्रा गरेपछि विगु गाउँपालिका-१ लप्ची पुगिन्छ । हिमाल पारिको गाउँले परिचित सीमा गाउँ हो लप्ची ।
लप्चीबाट ४५ मिनेटको दूरीमा छ चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा र चिनिया पक्षको सरकारी उपस्थिति । नेपालतर्फ भने सरकारी उपस्थिति छैन । 'लप्चीका स्थानीय सामान्य बिरामी परे उपचार र औषधि पाउने अवस्था छैन,' लप्चीका स्थानीय कर्मा शेर्पा भन्नु हुन्छ, 'किलोको एक सय रुपैयाँ ढुवानी खर्च लागेको नुन खानुपर्ने बाध्यता छ ।'
खर्कमा याक चौंरी चराउने र घ्यु, छुर्पी र चौंरीका बाच्छा तिब्बती बजारमा बेचेर गुजारा चलाउने यहाँका नागरिकको पुस्तैनी कर्म हो । भूकम्पपछि लप्ची नाका बन्द भएसँगै यहाँका स्थानीयका दुःखका दिन सुरु भए । स्थानीय लाक्पा टासी शेर्पा भन्नु हुन्छ, 'गत वर्षको असोजबाट नाका खुकुलो बनेको छ । यसले केही सहज भने बनाएको छ ।'
गाउँमा कोही सिकिस्त भइहाले अस्पताल लैजान हेलिकोप्टरबाहेक अरु विकल्प छैन । सीमा क्षेत्रका कारण हवाइ उडान निषेधित क्षेत्रमा पर्ने भएकाले त्यही सुविधा लिन पनि सरकारी अधिकारीले आलटाल गरेर हैरानी दिने गरेको स्थानीयको गुनासो छ ।