
काठमाडौं । स्टार कराते खेलाडी एरिका गुरुङ कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश गरेकी छन् ।
चीनको लेसानमा जारी प्रतियोगितामा एरिकाले सेमिफाइनलमा इटलीकी खेलाडी फेरा-कुटी क्लियोलाई पराजित गर्दै स्वर्ण नजिक पुगेकी हुन् । इटलीयन खेलाडविरुद्ध एरिकाले ८-३ को नतिजा हात पारेकी हुन् । अब एरिकाले फाइनलमा काजकिस्तानकी सोफिया बर्लुत-शोभाको सामना गर्ने छिन् ।
तीन महिनाअघि टर्कीमा भएको कराते वान प्रिमियर लिगको फाइनलमा एरिका सोफियासँग नै पराजित भएकी थिइन् । तथापि एरिकाले प्राप्त गरेको रजत पदक नेपालका लागी ऐतिहासिक थियो । शनिबार क्वार्टरफाइनलमा एरिकाले स्लोभेनियाकी खेलाडीलाई ८-० ले पराजित गरेकी थिइन् भने समुह चरणका दुई खेल अंक र एक खेल सेन्सुका आधारमा जितेकी थिइन् ।
फाइनलमा पुगेसँगै कम्तिमा रजत पक्का गरेकी एरिका अब स्वर्ण पदकबाट एक जित मात्र टाढा छिन् । फाइनल प्रतिस्पर्धा आइतबार हुने एरिकाका प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए । एसियाली खेलकुदकी रजत पदक विजेता समेत रहेकी एरिका नेपालकी सर्वाधिक सफल कराते खेलाडी हुन् ।