एन्फा-राखेप विवाद : एन्फाको 'अर्ली इलेक्सन'मा सहमति जुटेन

चैत्र ९, २०८२ |खेल ब्युरो
एन्फा-राखेप विवाद : एन्फाको 'अर्ली इलेक्सन'मा सहमति जुटेन

काठमाडौं । अखिल नेपाल फुटबल संघ- एन्फा र राष्ट्रिय खेलकुद परिषद् राखेपबीच एन्फाको निर्वाचनसम्बन्धी विवाद समाधान गर्न भएको छलफल निष्कर्षविहीन टुंगिएको छ । 

राखेपले एन्फालाई 'अर्ली इलेक्सन' नगरी नियमित प्रक्रिया अनुसार निर्वाचन गर्न निर्देशन दिएको थियो । सोही विषयमा साेमबार दुई पक्षबीच छलफल भएको थियो । तर, एन्फाले भने पूर्वनिर्धारित मिति चैत १३ गतेमै निर्वाचन गराउने अडान दोहोर्‍याएपछि सहमति जुट्न सकेन ।

एन्फाले निर्वाचनका लागि एएफसी र फिफाका पदाधिकारीहरू समेत नेपाल आउने तयारीमा रहेको जानकारी दिँदै अर्ली इलेक्सन नरोकिने स्पष्ट पारेको छ । एन्फका महासचिव किरण राईले राखेपले निर्वाचन रोक्नु पर्ने कुनै खास कारण दिन नसेको उल्लेख गरे । साथै उनले एफसी र फिफालाई यस अघिनै अर्ली इलेक्सनको बारेमा जानकारी गएको र अब विना कारण रोक्नु नीतिसंगत नभएको बताए ।

यता राखेपले भने नियमित प्रक्रियाबाट मात्रै निर्वाचन हुनुपर्ने बताएको छ । राखेपका सदस्य सचिव राम चरित्र मेहताले एन्फालाई स्पष्टीकरणका लागि अन्तिम अवसर दिने बताएका छन् । उनले एन्फाले निर्देशन पालना नगरे कडा कदम चाल्न र आवश्यक परे अप्रिय निर्णय लिन बाध्य हुने चेतावनी पनि दिएका छन् ।

राखेपले आफ्नो सहमति बिना निर्वाचन नगर्न पटक-पटक पत्राचार गरे पनि एन्फाले प्रक्रिया अघि बढाएको हो । एन्फाको अर्ली इलेक्सन चैत १३ गते झापामा हुने तालिका छ ।