
काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले दुई खेलअगावै इंग्ल्यान्डविरूद्धको एसेज सिरिज आफ्नो पक्षमा पारेको छ ।
एड्लेड ओभलमा सम्पन्न तेस्रो टेस्टमा अस्ट्रेलियाले ८२ रनको जित हात पारेको हो । सिरिज जितेसँगै अस्ट्रेलियाले पाँच टेस्टको सिरिज ३-० को अग्रता पनि बनाएको छ । उता एसेज सिरिजमा लगातार खराब प्रदर्शन गर्दै आएको इंग्ल्यान्डले अस्ट्रेलियामा पछिल्ला १८ टेस्टमा जित हात पार्न सकेको छैन ।
हारसँगै इंग्ल्यान्डका कप्तान बेन स्टोक्स, मुख्य प्रशिक्षक ब्रेन्डन म्याक्कलम र क्रिकेट निर्देशक रोब कीको भविष्यमाथि प्रश्न उठेको छ । एड्लेड टेस्टमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले पहिलो दिन ८ विकेट गुमाएर ३ सय २६ रन बनायो भने पहिलो इनिङ्समा ३ सय ७१ रनको योगफल तयार पार्यो । उसका लागि एलेक्स केरीले १ सय ६ रनको शतकीय इनिङ्स खेले भने मिचेल स्टार्कले ५४ रन जोडे ।
इंग्लिस टोलीका लागि जोफ्रा आर्चरले ५ विकेट लिए । दोस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले इंग्ल्यान्डमाथि १ सय ५८ रनको अग्रता बनाएको थियो । यस क्रममा स्पिनर नाथन लायन अष्ट्रेलियाका लागि टेस्ट क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा उक्लिए । उनले ग्लेन म्याक्ग्रालाई पछि पारे । आफ्नो पहिलो इनिङ्समा इंग्ल्यान्ड २ सय ८६ रनमै अलआउट भयो ।
८५ रनको अग्रतासहित दोस्रो इनिङ्स थालेको अष्ट्रेलियाले ३ सय ४९ रन जोड्दै इंग्ल्यान्डसामु ४ सय ३४ रनको कठिन लक्ष्य प्रस्तुत गरेको थियो । ट्राभिस हेडले घरेलु मैदानमा लगातार चार टेस्टमा शतक पुरा गरे । यससँगै उनले सर डन ब्रडम्यान, माइकल क्लार्क र स्टिभ स्मिथको कीर्तिमान बराबर गरे ।
लक्ष्य पक्ष्याउने क्रममा इंग्ल्यान्डले दोस्रो इनिङ्समा कमजोर प्रदर्शन गर्यो । ज्याक क्रलीले ८५ रनको संघर्षपूर्ण इनिङ्स खेले । जो रूटले ३९ रन र ह्यारी ब्रूकले ३० रन बनाएका थिए । अन्तिम दिन इंग्ल्यान्ड ३ सय ५२ रनमा अलआउट हुँदा अस्ट्रेलियाले २ खेलअगावै एसेज सिरिज रक्षा गरेको छ ।
दुई देशबीचको चौथो तथा बक्सिङ डे डेस्ट मेलबर्नमा खेलिने छ ।