
काठमाडौं । सात पटकको विश्व विजेता अस्ट्रेलियालाई सेमिफाइनलमा हराउँदै भारत आईसीसी महिला क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
गएराति डिवाई पाटिल रंगशाला मुम्बईमा भएको खेलमा पाँच विकेटको जितसहित भारत तेस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । १३औं संस्करणको विश्वकपमा अस्ट्रेलिया भने चौथो पटक फाइनल पुग्नबाट चुकेको हो । मुम्बईमा टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले एक बल बाँकी रहँदा सबै विकेट गुमाएर ३ सय ३८ रन बनाएको थियो।
ओपनर फोइबे लिच-फिल्डले तेस्रो नम्बरकी एल्से पेरीसँग १ सय ५५ रनको साझेदारी गरेकी थिइन्। फोइबेले ९३ बलमा १ सय १९ रनको बिस्फोटक पारी खेलिन्। पेरीले पनि ८८ बलमा ७७ रनको योगदान गरिन्। छैटौं नम्बरकी असलेघ गार्डनरले पनि ६३ रन जोडेपछि अस्ट्रेलियाले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको हो । भारतका लागि श्री चरानी र दिप्ती शर्माले समान दुई-दुई विकेट लिएका थिए।
जवाफमा भारतले उत्कृष्ट सुरूआत गर्न नसकेको भए पनि उसले ४८ ओभर तीन बलमा ३ सय ३९ रनको लक्ष्य पुरा गर्यो । सेफली बर्मा १० र स्मृति मन्धना २४ रनमा आउट भइन् । तेस्रो नम्बरकी जेमिनाहले सानदार प्रदर्शन गरेर १ सय २७ रनको पारी खेलेर भारतलाई कमब्याक गराएकी हुन्।
उनले हर्मनप्रित कौरसँग १ सय ६७ रनको उत्कृष्ट साझेदारी गरेकी थिइन्। यो साझोदारी तोड्न नसक्नु अस्ट्रेलियाको हारको प्रमुख कारण रह्यो। त्यसपछि दिप्ती र रिचा घोषले सम्हालिएर खेल्दै भारतलाई लक्ष्यसम्म पुर्याएका थिए। अस्ट्रेलियाका किम गार्थ र अनाबेलले समान २-२ विकेट लिए पनि भारतलाई जितसम्म पुग्नबाट रोक्न सकेनन्। अब फाइनल खेल मुम्बईमा आइतबार हुनेछ। जहाँ घरेलु मैदानमा भारत दक्षिण अफ्रिकाविरूद्ध खेल्दै पहिलो उपाधिको खोजीमा हुनेछ।