
काठमाडौं । गत भदौ २४ गते अदालतहरूमा भएको तोडफोड र आगजनीका घटनाका अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिइने भएको छ ।
जेन-जीको आन्दोलनका क्रममा सर्वोच्चसहित २३ वटा अदालतमा क्षति भएको थियो । सर्वोच्च अदालतको आइतबार बसेको फूलकोर्टको बैठकले क्षति भएका सबै अदालतले सम्बन्धीत जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानका लागि जाहेरी दिने निर्णय गरेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले क्षति पुगेका सबै अदालतले सम्बन्धीत जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने र आफूसँग भएको प्रमाण उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । अदालतले कसैको नाम नतोकी अनुसन्धानका लागि जाहेरी दिने तयारी भइरहेको कोइरालाले बताउनुभयो ।
आन्दोलनका क्रममा सर्वोच्चसहित देशभरका २३ वटा अदालतमा क्षति भएको छ । पूर्ण, सामान्य र आंशिक क्षति गरेर अदालतको विभाजन गरिएको छ । सर्वोच्च अदालतको भौतिक संरचनातर्फ अदालतको मूल भवन, पाले घर, सुरक्षाकर्मी भवन, सूचना कक्ष, छापाखाना भवन र प्रतिक्षालय जलेर पूर्णरूपमा क्षति भएको छ ।
सर्वोच्च अदालतको मूल भवनमा रहेका सम्पूर्ण इजलास तथा च्याम्बरमा समेत पूर्णक्षति भएको छ । चार पांग्रे सवारीसाधनतर्फ न्यायाधीशका १३ वटा, अदालत प्रयोगजनका ३० वटा, दुई पांग्रे सवारीसाधनतर्फ अदालतका ६६ वटा मोटरसाइकल र ३६ वटा स्कुटर तथा ४ वटा निजी मोटरसाइकलमासमेत पूर्णरूपमा क्षति भएको छ ।
आगजनी तथा लुटपाटका कारण ९४ मिसिल र्याक, २७९ टेबल, १०१ टी-टेबल, ६८२ काठ–स्टिलको कुर्सी, १०० बेन्च, ३९२ स्टिलको दराज, २७९ र्याक, २६ स्टुल, ३०९ बुक केस पूर्ण रुपमा क्षति भएको छ । यस्तै ७४ किचन र्याक, ६९ सोफा सेट, क्याबिनेट काउन्टर ९४ वटा, २३ एजुकेटिभ टेबल र कम्प्युटर टेबल ४७ पूर्णरूपमा क्षति भएको सर्वोच्चको तथ्यांक छ ।
त्यसैगरी चालु मिसिल करिब २० हजार ३४ र अभिलेख मिसिल करिब १ लाख ९७ हजारसमेत जलेर पूर्णरूपमा नष्ट भएका छन् ।