काभ्रे। धुलिखेल नगरपालिका र नेपाल हक्की एसोसियसनबीच धुलिखेल– ११ र १२ को सिमाना क्षेत्र चिसापानीमा २३ करोड लागतमा हक्की स्टेडियम निर्माण गर्ने सहमति भएको छ। दुवै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर गर्दै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भै निर्माण कार्य अघि बढाइने उल्लेख गरिएको छ।
सम्झदारीअनुसार स्टेडियम निर्माणका लागि आवश्यक पर्ने जग्गा धुलिखेल नगरपालिकाले उपलब्ध गराउनेछ। स्टेडियमलाई आधुनिक र राष्ट्रियस्तरको खेलकुद पूर्वाधारका रूपमा विकास गरिने जनाएको छ।
सम्झौतामा खेलकुद विकासलाई प्राथमिकता दिँदै महिला र पुरुष दुवैका लागि हक्की खेल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषय पनि समेटिएको छ। प्रारम्भिक चरणमा संजिवनी माध्यमिक विद्यालय र संखेश्वरी माध्यमिक विद्यालयमा प्रशिक्षण सञ्चालन गरिने योजना छ।
सम्झदारीपत्रमा धुलिखेल नगरपालिका र नेपाल हक्की एसोसियसनका पदाधिकारीहरूले हस्ताक्षर गरेका छन्। स्थानीय स्तरमै खेलकुद पूर्वाधार र प्रशिक्षण सुविधा उपलब्ध हुने भएकाले यसले जिल्लामा हक्की खेलको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।