अन्डर-१६ राष्ट्रिय पुरुष टोलीका सदस्य प्रसिद्ध जैसीलाई सम्मान

श्रावण २१, २०८२ |खेल ब्युरो
अन्डर-१६ राष्ट्रिय पुरुष टोलीका सदस्य प्रसिद्ध जैसीलाई सम्मान

काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघले नेपाली अन्डर-१६ राष्ट्रिय पुरुष टोलीका सदस्य प्रसिद्ध जैसीलाई सम्मान गरेको छ । संघले बुधवार आफ्नो छैटौं वार्षिक साधारण सभाको अवसर पारेर प्रसिद्धसहित पाँच क्रिकेटकर्मीलाई सम्मान गरेको हो ।

काठमाडौं जिल्ला तथा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने प्रसिद्धले एसीसी अन्डर-१६ इस्टर्न जोन कपमा नेपाललाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले प्रतियोगिताका ६ खेलमा एक शतक र एक अर्धशतकसहित २ सय ४६ रन प्रहार गरेका थिए ।

कार्यक्रममा महिला टिमकी खेलाडी कृष्मा गुरुङ, आईसीसी अम्पायर विजयकुमार झा, दुर्गानाथ सुवेदी र मुख्य प्रशिक्षक सामसनजंग थापालाई पनि सम्मान गरिएको थियो ।

उनीहरूलाई बागमती प्रदेशका सभाका सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घले, नेपाल क्रिकेट संघ -क्यानका सचिव पारस खड्का, क्यानका पूर्वसचिव अशोकनाथ प्याकुरेल लगायतले सम्मान गरेका हुन् ।