काठमाडौं गोर्खाजको प्रशिक्षकमा बसन्त शाही ठकुरी नियुक्त

श्रावण २१, २०८२ |खेल ब्युरो
काठमाडौं गोर्खाजको प्रशिक्षकमा बसन्त शाही ठकुरी नियुक्त

काठमाडौं । बसन्त शाही ठकुरी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग-एनपीएलका लागि काठमाडौं गोर्खाजको प्रशिक्षक नियुक्त भएका छन् ।

क्लबले सामाजिक सञ्जालमार्फत शाहीलाई प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको हो । शाहीले पहिलो संस्करणमा गोर्खाजको मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए ।

यस पटक उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रमुख प्रशिक्षक मोन्टी देसाइको सहायक प्रशिक्षकको रूपमा सहकार्य गर्ने छन् । गोर्खाजले गत महिना दोस्रो संस्रकणका लागी देसाइलाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । 

प्रशिक्षकको रूपमा यो जोडीले नेपाली राष्ट्रिय टिमसमेत सम्हालेका छन् । एनपीएलको अक्सनको मीति नजिकिँदै गर्दा देसाइ भोली नेपाल आउँदै छन् ।

शाही र देसाइबीचको अनुभव र तालमेलले काठमाडौं गोर्खाजलाई सशक्त बनाउने अपेक्षा गरिएको छ । यस्तै गोर्खाजले फिजियोको रूपमा डाक्टर पुरन तिरूवालाई पनि निरन्तरता दिएको छ । उनी गत सिजिन पनी गोर्खाजमै आवद्ध थिए ।

दोस्रो संस्करणका लागि काठमाडौंले मार्की खेलाडी तथा कप्तान करण केसीसहित भीम सार्की, राशिद खान, दीपेश कंडेल, शाहब आलम र प्रतिक श्रेष्ठलाई रिटेन गरिसकेको छ । बाँकी नेपाली खेलाडीहरू भने यही शनिबार हुने मिनी अक्सनमार्फत टुंगो लाग्नेछन् ।

काठमाडौं गोर्खाजले पहिलो संस्करणमा सात मध्ये चार खेल जित्दै पाँचौं स्थानमा रहेर लिग समाप्त गरेको थियो । यसपटक नयाँ नाम, लोगो, व्यवस्थापन र रणनीति सहित मैदान उत्रिने तयारीमा रहेको गोर्खाजले च्यम्पियन बन्ने लक्ष्य राखेको छ ।