एन्फा यू-१६ लिगमा मछिन्द्र र जावलाखेलको जित, संकटाले श्री भगवतिलाई हरायो

श्रावण १८, २०८२ |खेल ब्युरो
एन्फा यू-१६ लिगमा मछिन्द्र र जावलाखेलको जित, संकटाले श्री भगवतिलाई हरायो

काठमाडौं । एन्फा यू-१६ युथ लिगमा आइतबार मछिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब र संकटा क्लब विजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा मछिन्द्रले हिमालयन शेर्पामाथि ३-२ को रोमाञ्चक जित हात पारेको हो ।

सुरुवाती ६ मिनेटभित्रै २ गोलको अग्रता बनाएको मछिन्द्रले बीचमा लय गुमाएको थियो । चौंथो मिनेटमा करण धामीले खेलमा अग्रता बनाए। त्यसको २ मिनेटपछि साइरस डंगोलले दोस्रो गोल थपे । 

पहिलो हाफमा २-० ले पछि परेको हिमालयन शेर्पाका लागि ५६औं मिनेटमा जिनिल सुब्बाले मछिन्द्रसँगको गोल अन्तर घटाएका थिए । तर ७०औं मिनेटमा गोविन्द विकले मछिन्द्रका लागि तेस्रो गोल थपे । 

अतिरिक्त समयको तेस्रो मिनेटमा हिमालयन शेर्पाका युगेन खत्रीले गोल गरेपछि खेल थप रोमाञ्चक बनेको थियो । तर अन्तिम केही मिनेट मछिन्द्रले रक्षात्मक प्रदर्शन गरेपछि स्पस्ट ३ अंक सुरक्षित गर्यो ।

जितसागै मछिन्द्र १० खेलमा २३ अंक जोडेर दोस्रो स्थानमा छ भने पराजित हिमालयन शेर्पा १४ अंकका साथ आठौं स्थानमा छ । दिनको दोस्रो खेलमा जावलाखेलले सातदोबाटो युथ क्लबलाई ७-० को विशाल अन्तरले पछि पार्यो । 

सातदोबाटोको जारी लिगमा यो लगातार १० औं हार हो । उसले हालसम्म अंकको खाता खोल्न सकेको छैन । जावलाखेलका लागि पुजन सुनारले ब्रेस पुरा गरेका थिए। जावलाखेलका लागी चौथो मिनेटमा समीर लोप्चन, १२ औं मिनेटमा प्रिन्स भुजेल, २८औं मिनेटमा विशाल शाही र ४५औं मिनेटमा सुमित वाइबाले गोल गरेका थिए । 

पहिलो हाफको अतिरिक्त समयमा विविधराजले गोल गरेपछि जावलाखेलले पहिलो हाफमै ५-० अग्रता बनाएको थियो । दोस्रो हाफमा २ मिनेटको अन्तरालमा पुजनले २ गोल गरेपछि जावलाखेलले सानदार जित हात पार्यो । १० खेलपछि १३ अंक जोडेको जावलाखेल नवौं स्थानमा छ ।

दिनको तेस्रो तथा अन्तिम खेलमा संकटाले श्री भगवती क्लबलाई २-० ले हरायो । संकटाको जितमा पेम्बा तामाङले नवौं र ४३औं मिनेटमा प्रजल कुमार लुम्रेले गोल गरे । यससँगै संकटाले १० खेलमा २२ अंक बनाएको छ । समान खेलमा भगवतीको नौ अंक छ ।