एनपीएल पहिलो सिजनकाे हिसाबकिताब सार्वजनिक हुन ढिलाई भएको क्यानका अध्यक्षकाे चन्द स्वीकारोक्ति

श्रावण १८, २०८२ |खेल ब्युरो
एनपीएल पहिलो सिजनकाे हिसाबकिताब सार्वजनिक हुन ढिलाई भएको क्यानका अध्यक्षकाे चन्द स्वीकारोक्ति

काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग- एनपीएलको पहिलो सिजन सफल भएको उल्लेख गर्दै हिसाबकिताब सार्वजनिक हुन ढिलाई भएको स्वीकारेका छन् ।

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले दोस्रो सिजनको तयारीलाई तिब्रता दिइएको बताए । साथै पहिलो सिजनको हिसाब चाँडै‌‌ पारित हुने पनि उनले स्पष्ट पारे ।

अध्यक्ष चन्दले सुदूरपश्चिम प्रदेश सरकारलाई क्रिकेट पूर्वाधार निर्माणमा ध्यान दिन समेत आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि क्रिकेट मैदान निर्माणमा चासो देखाएको भन्दै उनले अन्य प्रदेशमा जस्तै सुदूरपश्चिममा पनि छिट्टै क्रिकेट पूर्वाधार बन्नुपर्ने बताए । 

सुदूरपश्चिम क्रिकेट संघको विवाद सामान्य भएको उल्लेख गर्दै अध्यक्ष चन्दले अरू प्रदेशभन्दा सुदूरमा कम गतिविधि भइरहेकोप्रति गुनासो गरे । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले सन् २०२६ मा हुने टी-२० विश्वकपमा सहभागिता जनाउनेमा आफू विश्वस्त रहेको समेत उनको भनाइ छ । 

एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटबाट नेपालले विश्वकपमा स्थान बनाउने उनको विश्वास छ । छनोट प्रतियोगितामा नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसबाट तीन टोली सन् २०२६ मा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी-२० विश्वकपमा छनोट हुनेछन् ।