लुइस डियाजलाई ८७ मिलियन पाउण्डभन्दा कममा नबेच्ने

असार ३२, २०८२ |खेल ब्युरो
लुइस डियाजलाई ८७ मिलियन पाउण्डभन्दा कममा नबेच्ने

काठमाडौं । इंग्लिस क्लब लिभरपुलले आफ्ना फरवार्ड लुइस डियाजका लागि जर्मन क्लब बायर्न म्युनिखले दिएको ५८ दबमलव ६ मिलियन पाउण्डको प्रारम्भिक प्रस्ताव अस्वीकार गरेको छ ।

बायर्नले यो महिनाको सुरूवातमा डियाजको अवस्थाबारे जानकारी लिएको थियो तर लिभरपुलले उनलाई बिक्रीमा नराखिएको स्पष्ट जवाफ दिएको छ ।

२८ वर्षीया कोलम्बियन फरवार्ड डियाजको लिभरपुलसँगको सम्झौता सन् २०२७ को समरमा समाप्त हुनेछ । क्लबले उनलाई आर्ने स्लटको प्रमुख योजनाको हिस्सा ठहर गर्दै ८७ मिलियन पाउण्डभन्दा बढी मुल्य निर्धारण गरेको छ । 

डियाजले गएको सिजन क्लब र राष्ट्रिय टोलीका लागि २२ गोल गरेका थिए । जसमध्ये उनले १३ गोल प्रिमियर लिगमा गरेका थिए । गत सिजन लिभरपुलले १० अंकको अग्रतासहित लिग उपाधि जितेको थियो ।

पछिल्लो समय डियाजमथि म्यानचेस्टर सिटी र साउदी क्लबहरूले पनि चासो देखाइरहेका छन् ।