एन्फा अन्डर-१६ युथ लिगमा पुलिस क्लबको लगातार दोस्रो जित

असार २५, २०८२ |खेल ब्युरो
एन्फा अन्डर-१६ युथ लिगमा पुलिस क्लबको लगातार दोस्रो जित
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा अन्डर-१६ युथ लिगमा लगातार दोस्रो जित हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार सम्पन्न खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा समीर कुमारको गोलमार्फत् पुलिसले सुरुवाती अग्रता लिएको थियो । ८८ औं मिनेटमा अप्सन राईले गोल थपेपछि पुलिस २-० गोल अन्तरले विजयी भयो ।
यससँगै पुलिसले ६ अंक जोडेको छ । पुलिसले आफ्नो पहिलो खेलमा न्युरोड टिम एनआरटीलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको थियो । फ्रेन्ड्स क्लबको यो पहिलो हार हो । फ्रेन्ड्सले आफ्नो पहिलो खेलमा साविक विजेता चर्च ब्वाइज युनाइटेडमाथि ७-० को उत्कृष्ट जित हासिल गरेको थियो ।
बुधवार नै सम्पन्न अर्को खेलमा एपीएफले चर्च ब्वाइजलाई १-० ले पराजित गर्दा सातदोबाटो युवा क्लबविरुद्ध भगवती क्लबले ६-० को विशाल जित हात पार्‍यो ।