नेपाल एसीसी मेन्स अन्डर सिक्सटिन इस्ट जोन कपको सेमिफाइनलमा

इन्डोनेसियामाथि ३ सय ७० रनको विशाल अन्तरको जित, प्रसिद्ध जैशीको शतक
असार १५, २०८२ |खेल ब्युरो
नेपाल एसीसी मेन्स अन्डर सिक्सटिन इस्ट जोन कपको सेमिफाइनलमा

काठमाडौं । साविक विजेता नेपाल इन्डोनेसियामाथि ३ सय ७० रनको विशाल अन्तरको जित हात पार्दै एसीसी मेन्स अन्डर सिक्सटिन इस्ट जोन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

एक खेलअगावै अन्तिम चारमा पुग्ने क्रममा नेपालका लागि प्रसिद्ध जैसीले शतक प्रहार गर्दा कप्तान विपिन शर्माले ६ विकेट लिए । मलेसियाको क्वालालाम्पुरस्थित सेलेगंर टर्फ क्लबमा इन्डोनेसियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्यो । 

नेपालका युवा खेलाडीले आक्रामक ब्याटिङ गर्दै ५० ओभरमा पाँच विकेट गुमाएर ४ सय २० रन बनाए । नेपालको टिमले ५० ओभरको कुनै पनि खेलमा बनाएको यो अहिलेसम्मको उच्च योगफल हो । 

परिमार्जन यादव र प्रसिद्धबीच १ सय ३० रनको ओपनिङ साझेदारी भएको थियो । परिमार्जन २८ बलमा ७१ रन बनाएर आउट भए । सिवान्स बजगाइँ भने चार रनमा नै मैदान बाहिरिए । 

प्रसिद्धले १ सय ३२ रनको उत्कृष्ट इनिङस खेले । १ सय १४ बलको सामना गरेका उनले १५ चौका र एक छक्का प्रहार गरे । रौनक श्रीवास्तवले ७१ बलमा ८८ रनको योगदान गरे । 

जोय थापाले ४१ बलमा ५७ रन जोडे । सुगम बुढाथोकी ३९ रनमा अविजित रहे । इन्डोनेसियाका केतुत धर्मपुत्रले दुई विकेट लिए । जवाफमा नेपालले इन्डोनेसियालाई २४ ओभर तीन बलमा मात्र ५० रनमा अल आउट गर्यो । 

उसका लागि केभिन निरज चड्डाले १५ र दिभित नन्डाले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । चार खेलाडीले त खाता पनि खोलेनन् । इन्डोनेसियाको इनिङसलाई कोल्याप्स बनाउन विपिनले धारिलो बलिङ गरे । 

उनले सात ओभर तीन बलमा दुई मेडनसहित १२ रन खर्चिएर ६ विकेट हात पारे । सुगम र शुभमले एक-एक विकेट लिए । अब नेपालले समूहको अन्तिम खेल मंगलबार भुटानसँग खेल्नेछ । 

समूह 'ए' मा रहेको नेपाल तीन खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । यो समूहबाट सिंगापुर पनि अन्तिम चारमा प्रवेश गरेको छ ।