काठमाडौं । एएफसी महिला एसियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपालले आइतबार लाओससँग प्रतिस्पर्धा गर्दैछ । योसँगै नेपालले आफ्नो एक सयौँ अन्तर्राष्ट्रिय खेलको कोशेढुंगा पनि पूरा गर्नेछ ।
उज्वेकिस्तानको तास्केन्टस्थित मिल्ली स्टेडियममा खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू हुनेछ । नेपाल र लाओस महिला फुटबलमा पहिलोपटक आमनेसामने हुनेछन् ।
फिफा वरियतामा नेपालभन्दा लाओस सात स्थान तल छ । नेपाल एक सय र लाओस एक सय सात स्थानमा छ । केही साताअघि नेपालको राष्ट्रिय पुरूष फुटबल टिम लाओससँग पराजित भएको थियो ।
लाओसका प्रशिक्षक जोङ सोङ चोनलले महिला टिमले पनि सोही लयलाई निरन्तरता दिने बताएका छन् । नेपाली टिमका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले तयारीका लागि समय कम पाए पनि छनोट खेलमा उत्कृष्ट नतिजाको अपेक्षा गरेका छन् ।
त्यसका लागि लाओससँगको खेलमा जित हात पार्नु आवश्यक हुनेछ । नेपाली महिला टिमको मुख्य प्रशिक्षकका रूपमा उनको पनि यो डेब्यु खेल हुनेछ । यसै प्रतियोगिताको तयारीका लागि नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
नतिजा आफ्नो पक्षमा नआए पनि उक्त खेल छनोटमा सहयोगी हुने खेलाडीको भनाइ छ । नेपालले अहिलेसम्म कप्तानको भने घोषणा गरेको छैन् । एन्जीला तुम्बाप्पो सुब्बालेनै निरन्तरता पाउँछिन् वा अन्य खेलाडीलाई जिम्मेवारी दिइन्छ भन्ने चासो छ ।
कप्तानका लागि सावित्रा भन्डारीको नाम पनि अघि आएको छ । आजबाट सुरू छनोटमा नेपाल, लाओस, उज्वेकिस्तान र श्रीलङ्का सहभागी छन् । तालिकाको शीर्ष स्थानमा रहने टिम अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपका लागि छनोट हुनेछ । साथै फिफा विश्वकप र ओलम्पिक छनोट खेल्ने अवसर पनि प्राप्त हुनेछ ।