[अपडेट ] चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्य ५३ पुग्यो, ६२ घाइते

पुस २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
[अपडेट ] चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्य ५३ पुग्यो, ६२ घाइते

काठमाडौं । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रविन्दु भएर ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

नेपाल-चीन सीमाबाट नजिकै पर्ने चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गे काउन्टीमा बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । भूकम्पका कारण दिङ्गे काउन्टीको चाङ्गसुओ क्षेत्रका धेरै घरहरु भत्किएको र भग्नावशेषमा उद्धारको काम भइरहेको सिन्ह्वाले जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भने ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखेको छ ।

भूकम्प १० किलोमिटरको गहिराइमा गएको बताइएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको क्षेत्र हो । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङलगायत जिल्लामा पनि महसुस गरिएको थियो ।

भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घरबाहिर खुला स्थानमा निस्किएका थिए । भूकम्प मापन केन्द्रले केन्द्रले ६ देखि ८ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । आज बिहान गएको भूकम्पबाट अहिलेसम्म नेपालका कुनै ठाउँबाट क्षतिको विवरण भने नआएको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement