काठमाडौं । बोर्डर-गावस्कर ट्रफीअन्तर्गत चौंथो टेस्टमा भारतीय टोली ‘फलोअन’को खतरामा परेको छ । भारतले दोस्रो दिनको समाप्तिसम्म १ सय ६४ रन बनाएर ५ विकेट गुमाएको छ । ऋषभ पन्त ६ र रविन्द्र जडेजा ४ रनमा अविजित छन् ।
भारतले फलोअन जोगाउन थप १ सय ११ रन जोड्नु पर्नेछ । अस्ट्रेलियाले पहिलो इनिङ्समा ४ सय ७४ रन बनाएको थियो । भारतले फलोअन जोगाउन कम्तिमा २ सय ७५ बनाउनुपर्ने छ । ६ विकेटमा ३ सय ११ रन बनाएको अवस्थाबाट दोसो दिनको सुरुवात गरेको अस्ट्रेलियाले पहिलो इनिङसमा ४ सय ७४ रन बनाएर सबै विकेट गुमायो ।
अस्ट्रेलियाको इनिङ्समा स्टिभ स्मिथले १ सय ४० रन बनाएका थिए । उनका लागि यो ३४ औं शतक टेस्ट शतक हो भने भारतविरुद्ध ११ औं शतक हो । भारतका लागि जसप्रित बुमराहले ४ र रविन्द्र जडेजाले ३ विकेट लिए । आकाश दीपले २ तथा मोहम्मद सिराजको नाममा १ विकेट रह्यो ।
भारतका कप्तान रोहित शर्मालाई व्यक्तिगत ३ रनमा गुमाएपछि आफनो पहिलो इनिङ्समा भारतको सुरुवात राम्रो हुन सकेको थिएन । के एल राहुलले २४ रन बनाए । तेस्रो विकेटका लागि यशस्वी जैसवाल र विराट कोहलीले १ सय १ रनको साझेदारी गर्दै भारतलाई लयमा फर्काएका थिए । तर जैसवाल ८२ रन बनाएर रनआउट भएपछि भारतको विकेट पतनको क्रम सुरु भयो । कोहली ३६ रनमा बाहिरिए । नाइट वाचम्यानका रुपमा क्रिजमा आएका आकाश दीपले खाता खोल्न सकेनन् । दोस्रो दिनको अन्तिम ६ ओभरमा ३ विकेट गुमाएपछि भारतका लागि फलोअनको खतरा बढेको हो ।
अस्ट्रेलियाका लागि कप्तान प्याट कमिन्स र स्कर्ट बोल्यान्डले २-२ विकेट लिए । दोस्रो दिनको समाप्तिसम्म भारतले ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको छ । अझै ३ सय १० रनले पछि परेको भारतका लागि तेस्रो दिनको सुरुवात ऋषभ पन्त र रविन्द्र जडेजाले गर्ने छन् ।
हाल दुई देशबीचको ५ खेलको टेस्ट सिरिज १-१ को बराबरीमा छ । पहिलो टेस्ट भारतले जितेको थियो भने दोस्रो टेस्ट अस्ट्रेलियाले जितेको थियो । तेस्रो टेस्टमा वर्षा बाधक भएपछि बराबरी भएको थियो ।