काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सिजनमै विश्वको ध्यान आकर्षित गर्न सफल भयो । यससँगै यसको ब्रान्ड भ्याल्यु कति भन्ने बहस पनि सुरू भएको छ । एक अर्ब हाराहारीमा कारोबार भएको अनुमान गरिएको एनपीएललाई प्रायोजक र दर्शकको पनि राम्रै साथ प्राप्त भयो । पहिलो सिजनमै नेपाली खेल क्षेत्रको सबैभन्दा ठूलो नाम बनेको एनपीएलको ब्रान्ड भ्याल्यु कति त ?
सन् २००८ बाट सुरू भएको इन्डियन प्रिमियर लिग (आईपीएल)को ब्रान्ड भ्याल्यु १६ वर्षमा ६ सय प्रतिशतले बढेर १० खर्ब भारुभन्दा माथि पुगेको छ । सन् २००९ मा यो केवल १ खर्ब ७० अर्ब भारुको थियो । आईपीएल जति ठूलो बजार नभए पनि एनपीएलले पाएको चर्चा हेर्दा आगामी दिनमा नेपालको मात्र होइन, यो विश्वकै खेल क्षेत्रको ठूलो ब्रान्ड बन्ने अनुमान गरिएको छ ।
एनपीएलको ब्रान्ड भ्याल्युको वैज्ञानिक अध्ययन भइसकेको त छैन, तर ब्रान्ड भ्याल्युलाई आवश्यक पर्ने वस्तु जस्तै कारोबार, प्रायोजकको सहयोग तथा प्रशंसकको साथ र राष्ट्रिय-अन्तर्राष्ट्रिय क्षेत्रमा भएको चर्चालाई हेर्दा एनपीएलको ब्रान्ड भ्याल्यू १० अर्ब हाराहारी पुगेको जानकारको बुझाइ छ ।
वस्तु वा उत्पादनको प्रतिष्ठा, त्यसमाथिको विश्वास, बजार वा आम मानिसमा त्यसले पारेको प्रभावलाई आधार मानेर निर्धारण हुने मूल्य नै ब्रान्ड भ्याल्यू हो । २१ दिनसम्म चलेको एनपीएलमा क्यानले टिकटबाटै ५ करोडभन्दा बढी कमाएको छ । त्यस्तै ८ वटा फ्रेन्चाइज टिमबाट १७ करोड र एनपीएलको कर्मर्सियल राइटबाट ५ करोड ९२ लाख कमाएको छ ।
यस्तै ८ वटा फ्रेन्चाइज टिमले समेत प्रायोजकबाट कमाएका छन्, यद्यपि कति कमाइ भयो भन्ने हिसाबकिताब क्लबले गरिसकेका छैनन् । एसोसिएट राष्ट्रले आयोजना गरेको पहिलो फ्रेन्चाइज लिगमा १६ देशका ३२ विदेशी खेलाडी नेपाल आए । त्यसमा पनि विश्वकप खेलेका र थुप्रै कीर्तिमान बनाएका भारतीय स्टार क्रिकेटर शिखर धवनदेखि न्युजिल्यान्डका मार्टिन गप्टिल र जिमी नीशम अनि पाकिस्तानका सोहेल तनविरसम्मको उपस्थितिले एनपीएलको ब्रान्ड भ्याल्यु बढेको छ ।
वेस्ट इन्डिजका लेजेन्ड ब्रायन लाराको उपस्थितिले समेत एनपीएलको ब्रान्ड भ्याल्यू बढाएको छ । स्वदेशी र विदेशी मिडियामा एनपीएलको प्रत्यक्ष प्रसारण तथा यसका बारेमा भएको चर्चाले पनि थप बल दिएको छ । सामाजिक सञ्जालमा विश्वस्तरमै एनपीएलका बारेमा आएका सकारात्मक टिप्पणी पनि एनपीएलको भ्याल्यू बढाउन सहायक भएका छन् ।