काठमाडौं । नेपालको अन्डर सिक्सटिन महिला फुटबल टिमले आज भुटानसँग मैत्रीपूर्ण खेल खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो दुई बजे सुरू हुनेछ ।
हिजो भएको प्रिम्याच प्रेस कन्फरेन्समा प्रशिक्षक सुलभजंग रानाले भूटानसँगको खेल युवा खेलाडीका लागि महत्त्वपूर्ण हुने बताए । पछिल्लो समय भूटानको टिमले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । गत कात्तिकमा काठमाडौंमा नै भएको साफ महिला च्याम्पियनसिपमा भूटानले नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो ।
भूटानले पनि नेपालसँगको खेललाई लिएर उत्साहित रहेको बताएको छ । नेपालको अन्डर सिक्सटिन टोलीको कप्तानी भूमिका बुढाथोकीले गरेकी छन् ।
यस्तै आइतबार नेपाल र भूटानका अन्डर नाइन्टिन टिमले प्रतिस्पर्धा गर्ने छन् । नेपालको अन्डर नाइन्टिन टोलीको कप्तानी कुशुम खतिवडाले गर्ने छिन् । दुवै खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर म्याक्स एचडीबाट हुनेछ ।