को बन्ला एनपीएलको सर्वोत्कृष्ट नेपाली खेलाडी ? कसले जित्ला कार ?

पुस ५, २०८१ |खेल ब्युरो
को बन्ला एनपीएलको सर्वोत्कृष्ट नेपाली खेलाडी ? कसले जित्ला कार ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा अब एक खेल मात्र बाँकी छ र त्यो फाइनल हो । उपाधि कसले जित्ला भन्ने उत्सुकताका बीच, सर्वोत्कृष्ट खेलाडीको दौड पनि उत्तिकै रोचक छ । खासगरी टिमका लिडरदेखि युवा खेलाडीले पनि आफूलाई एनपीएलमा प्रमाणित गरिरहेका छन् । सर्वोत्कृष्ट खेलाडीको दौडमा रहेका विशेषगरी ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल, रोहित पौडेल, कुशल मल्ल लगायतमध्ये कसले पाउलान् त कार ?

लिग चरणबाटै बाहिरिएको लुम्बनी लायन्सका रोहित पौडेलले गरेको प्रदर्शनलाई अहिलेसम्म पनि कुनै नेपाली खेलाडीले बिट गर्न सकेका छैनन् । रोहितसँगै, सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी, चितवन राइनोजका कुशल मल्ल र रिजन ढकाल साथै जनकपुर बोल्ट्सका ललितनारायण राजवंशी अहिले सर्वोत्कृष्ट खेलाडीको दौडमा सबैभन्दा अगाडि छन् ।

ब्याटिङ, बलिङ र फिल्डिङका सन्तुलित त्रिआयामिक खेलाडी दीपेन्द्रले नेतृत्व गरेको सुदूरपश्चिम अहिले फाइनलमा पुगेको छ । खेलाडीले नै भन्ने गरेका छन् कि दीपेन्द्रको टिममा पर्दा खेल्न सहज भएको छ । उनी खेलको अवस्था बुझेर ब्याट चलाउन सक्ने खेलाडीका रूपमा परिचित छन् । उनले विराटनगरसँग ५७ रन बनाए भने लुम्बिनी विरुद्ध पनि ३९ रनको योगदान गरेका थिए । जारी एनपीएलमा आफ्नो टोलीलाई फाइनल पुर्‍याउने क्रममा क्वालिफायरमा तीन विकेट लिएका उनले समग्रमा लिगमा ८ विकेट लिएका छन् । उनको नाममा २१८ रन छ । उनी जारी एनपीएलमा धेरैको रोजाइमा पर्न सफल खेलाडी हुन् ।

युवा खेलाडीको रूपमा युवा र सिनियर खेलाडीलाई नै लिड गरेका कुशल मल्ल प्रतियोगिताका जल्दाबल्दा हुन् । उनले पोखरा एभेन्जर्स विरुद्ध ३८, जनकपुर विरुद्ध ७२ र बिहीबार कर्णाली याक्स विरुद्ध २१ रनको योगदान गरेका थिए । समग्रमा नौ विकेट लिएका कुशलको नाममा २२३ रन छ । त्यसैले उनी सर्वोत्कृष्ट खेलाडीले पाउने पुरस्कारको दाबेदार हुन् ।

रोहित पौडेले टिमका बाँकी खेलाडीले स्टेप अप नगर्दा उनको टिम सबैभन्दा पहिले बाहिरिने बन्यो । उत्कृष्ट कौशलले भरिएका खेलाडी भए पनि रोहितको टिमले प्रदर्शन गर्न सकेन । यद्यपि रोहित नेपाली ब्याटरहरूमध्ये अहिलेसम्मका उत्कृष्ट छन् । उनले ७ खेलबाट २७९ रन बनाएका छन् । उनको नाममा ८ विकेट पनि छ । रोहितले दुई खेलमा अर्धशतक प्रहार गरे । उनी पोखरासँगको खेलमा शतक बनाउनबाट ५ रनले मात्रै चुकेका थिए । चितवन विरुद्ध पनि ८० रनको योगदान गरे । तर उनी कप्तानका रूपमा टिमलाई जित दिलाउन भने सफल भएनन् ।

यो अवार्डको दाबेदारमा अहिले ललित राजवंशी र रिजन ढकाललाई पनि राख्न सकिन्छ । यी खेलाडी लिडिङ विकेट टेकरको सूचीमा छन् । ललितले काठमाडौं, पोखरा र विराटनगरको समान तीन-तीन विकेट लिएका छन् । दोस्रो क्वालिफायर्समा पनि दुई विकेट लिएपछि १६ विकेट आफ्नो नाममा गरेका छन् । उनी यस प्रतियोगितामा जनकपुरका लागि म्याच विनर सावित भएका छन् । जारी एनपीएलको एक खेलमा मात्रै उनी विकेटविहीन बने । ५.५० को इकोनोमीका बलिङ गरिरहेका ललित राजवंशी पनि जारी एनपीएलको सर्वोत्कृष्ट खेलाडीको दाबेदार हुन् ।

पाकिस्तानका सोहेल तन्विरको साथ पाएका बलर रिजन ढकालले पनि आफूलाई एनपीएलमै प्रमाणित गरे । नेपालको उमेर समूहको टोलीमा समेत खेलिसकेका बायाँहाते बलर रिजनले १३ विकेट लिएका छन् । उनले पोखरा र लुम्बिनीको तीन विकेट लिएका थिए । बाँकी खेलमा पनि उनले राम्रो प्रदर्शन गर्दै आएका छन् । कर्णालीका युवा स्पिनर विपीन शर्मा पनि १३ विकेट लिएर प्रतिस्पर्धामा छन् ।

अब जकपुर र सुदूरपश्चिमबीच फाइनल भिडन्त हुनेछ । यस्तो अवस्थामा दीपेन्द्र र ललितमध्ये जुन खेलाडीको प्रदर्शनले टिम च्याम्पियन बन्छ सम्भवतः कार उसै खेलाडीको हुनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडीले आमोडा कार पुरस्कार पाउनेछन् । त्यसका लागि एनपीएलमा खेलाडीको व्यक्तिगत प्रदर्शन पनि निकै रोमाञ्चक देखिएको छ ।



Enter Kantipur TV HD
Advertisement