काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायर्समा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दै छन् । त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेबाट खेल सुरू हुनेछ ।
सुदूरपश्चिम लिग चरणका ७ मध्ये ६ खेल जित्दै शीर्ष स्थानमा रहेर क्वालिफायर्समा प्रवेश गरेको थियो भने जनकपुर ७ मध्ये ५ खेल जित्दै दोस्रो स्थानमा रहेर अघि बढेको हो ।
जनकपुरका कप्तान तथा ओपनर अनिल साह चोटग्रस्त बनेपछि टिमलाई ठूलो झट्का लागेको छ । अनिलको औंलामा चोट लागेको छ । उनले एनपीएलका बाँकी खेल गुमाउनेछन् । अनिलको अनुपस्थितिमा आसिफ शेखले टिमको कप्तानी सम्हाल्ने छन् ।
लिग चरणमा सुरूआतमा लगातार चार खेल जितेको जनकपुरको अपराजित यात्रालाई सुदूरपश्चिमले ब्रेक लगाइदिएको थियो । सो खेलमा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर ५१ रनमा अल आउट भएको थियो । जुन एनपीएलको हालसम्मकै न्यून स्कोर हो ।
सुदूरपश्चिम ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा राम्रो देखिएको छ । विनोद भण्डारी र सैफ जैबले राम्रो सुरूआत गर्दै आएका छन् । ब्रान्डन मक्मलेनले अल राउन्ड प्रदर्शन गर्दा मध्यक्रममा ईशान पाण्डे र कप्तान दीपेन्द्रसिंह ऐरीले शानदार प्रदर्शन गर्दै आएका छन् । दीपेन्द्रले प्रतियोगिताभर १९८ रन बनाएर पाँच विकेट समेत लिएका छन् । सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा सुदूरकै स्कट कुगेलाइन छन् । पेस बलर कुगेलाइनको नाममा १५ विकेट छ ।
१३ विकेटका साथ जनकपुरका स्पिनर ललित दोस्रो स्थानमा छन् । किशोर महतो, हर्ष ठाकरबाट पनि उस्तै प्रदर्शनको आश छ । आसिफ, जिम्मी नीशम, लाहिरु मिलान्था उसका मुख्य ब्याटर हुन् । नीशमले ६ खेलमा १५३ रन जोडेका छन् । मिलान्थाले १९२ रन प्रहार गरेका छन् । यस खेलको विजेता टोली फाइनलमा प्रवेश गर्ने छ भने पराजित हुने टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।