काठमाडौं । एनपीएलको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टविरुद्धको टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । फाइनल खेल त्रिवि क्रिकेट मैदानमा १२ : ३० बजेबाट सुरु हुँदै छ ।
सुदूरपश्चिमले लिगको शीर्ष स्थानमा रहेर क्वालिफायर खेल्दा जनकपुरलाई नै ८ विकेटले पराजित गरेर फाइनल पुगेको हो । जनकपुरले भने कर्णाली याक्समाथि दुई विकेटको सनसनीपूर्ण जित हात पारेपछि यी दुईको फाइनल भेट पक्का भएको हो ।
सुरुवाती चार खेल खेल्दै जनकपुरले आफूलाई उपाधि दाबेदारका रुपमा प्रस्तुत गर्दा पहिलो हार सुदूरपश्चिमसँगै बेहोरेको थियो । त्यो पनि प्रतियोगिताकै सबैभन्दा न्यून योगफल ५१ रनमा समेटियो ।
सुदूरपश्चिमले फाइनल यात्रा तय गर्दा सम्मका आठ मध्ये एक खेल मात्र हारेको छ । लिगमा चितवन राइनोजले सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाइदिएको थियो । त्यसयता जगत टमाटाको टिमले खेलेका चारै खेलमा जित हात पारेको छ ।
जनकपुर भने पछिल्ला पाँच खेलमा दुईमा मात्र विजयी भएको छ ।