भिनिसियसले जिते फिफा बेस्ट अवार्ड

पुस ३, २०८१ |खेल ब्युरो
भिनिसियसले जिते फिफा बेस्ट अवार्ड

काठमाडौं । ब्राजिल तथा रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियर फिफा बेस्ट अवार्ड अन्तर्गत पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । भिनिसियसले पहिलो पटक फिफा बेस्ट अवार्ड जितेका हुन् ।

कतारको दोहामा आयोजित समारोहमा गए राति पुरस्कार प्रदान गरिएको हो । २४ वर्षीय भिनिसियस गए रातिको पुरस्कार समारोहमा उपस्थित थिए ।

यसअघि म्यानचेस्टर सिटीका रोड्री विजयी भएपछि रियल मड्रिडले बलोन डी ओर समारोह बहिष्कार गरेको थियो । रियल मड्रिड अहिले अन्तरमहादेशीय कपको फाइनलका लागि दोहामै छ ।

सन् २०२३–२०२४ को सिजनमा रियलले च्याम्पियन्स लिग र ला लिगा उपाधि जित्दा भिनिसियसले महत्त्वपूर्ण भूमिका निभाएका थिए । उनले ३९ खेलमा २४ गोल र ११ असिस्ट गरेका थिए । योमध्ये च्याम्पियन्स लिग फाइनलमा बोरुसिया डर्टमन्ड विरुद्ध भिनिसियले गरेको गोल निर्णायक थियो । भिनिसियसले सिटी तथा स्पेनिस मिडफिल्डर रोड्री र रियलका टिम मेट इंग्ल्यान्डका जुड बेलिङगमलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

भिनिसियसले ब्राजिलको साओ गान्काले सडकमा खाली खुट्टाले फुटबल खेल्दा असम्भव लाग्ने अवार्ड अहिले आफ्नो हातमा रहेको प्रतिक्रिया दिएका छन् । बलोन डी ओर र फिफा बेस्ट अवार्ड विश्व फुटवलका दुई प्रतिष्ठित पुरस्कार हुन् ।

यस्तै फिफा बेस्ट अन्तर्गत रियल मड्रिडका कार्लोस एन्सेलोटी उत्कृष्ट प्रशिक्षक बने । उनले स्पेनिस जायन्टलाई च्याम्पियन्स लिग र ला लिगा उपाधिका लागि नेतृत्व गरेका थिए । प्रतिस्पर्धामा पेप ग्वार्डिवाला, लियोनल स्कालनी, जाभी अलन्सो पनि थिए । ६५ वर्षिय इटालियनले यो अवार्ड जितेको पहिलो पटक हो ।

उत्कृष्ट गोलका लागि प्रदान गरिने पुस्कास अवार्ड म्यानचेस्टर युनाइटेडका अलेहान्द्रो गारान्चोले प्राप्त गरे । २०२३ नोभेम्बरमा एभर्टनलाई ३-० ले हराउँदा उनले गरेको बाइसाइकल किक उत्कृष्ट गोल घोषित भएको हो ।

अर्जेन्टिनाका एमिलियानो मार्टिनेज वर्षको उत्कृष्ट गोलकिपर बने । टिम अफ द इयरमा सन्नयास लिइसकेका टोनी क्रुज सहित पाँच रियल मड्रिड र एक बार्सिलोनाका खेलाडी परेका छन् । प्रिमियर लिगका पाँच खेलाडीले यसमा स्थान बनाए ।

यसैगरी महिलातर्फ स्पेन तथा बार्सिलोनाकी एइटाना बोनमटीले लगातार दोस्रो वर्ष अवार्ड हात पारिन् । २६ वर्षीया बोनमटीको उत्कृष्ट प्रदर्शनको मद्दतमा स्पेनले २०२३ मा महिला विश्वकप उपाधि जितेको थियो । प्रतियोगितामा उनले गोल्डेन बल अवार्ड जितेकी थिइन् । उनी २०२३ र २०२४ को बलोन डी ओर विजेता पनि हुन् । उनले जाम्बियाकी बारब्रा बान्डा र टिम मेट क्यारेलिन ग्राहमलाई पछि पारेकी हुन् । 

अघिल्लो सिजन उनले क्लबका लागि लिगा एफ, च्याम्पियन्स लिग, सुपरकोपा र कोपा डे ला रेइना जितेकी थिइन् । चारै प्रतिस्पर्धामा बोनमटीले करियर बेस्ट १९ गोल गरेकी थिइन् । अहिलेसम्म बार्सिलोनाबाटै व्यावसायिक फुटबल खेलिरहेकी बोनमटीको आफ्नो सफलताको श्रेय क्लब र टिम मेटलाई दिइन् । 

महिलातर्फ सिकागो रेड स्टारकी अमेरिकी अलिसा नेहरले उत्कृष्ट गोलकिपर अवार्ड जितेकी छिन् । अमेरिकी टिमकी एम्मा हायस उत्कृष्ट प्रशिक्षक बनिन् । उनले यसै वर्ष भएको पेरिस ओलम्पिकमा अमेरिकालाई स्वर्ण पदक दिलाएकी थिइन् । गत सिजन चेल्सिलाई वुमन्स सुपर लिग उपाधि जिताउँदै अमेरिकी टिमको नेतृत्व सम्हाल्न पुगेकी थिइन् । एम्माले २०२१ पछि दोस्रो पटक यो अवार्ड हात पारेकी हुन् । 

यो वर्षबाट महिलातर्फ पनि उत्कृष्ट गोलका लागि मार्टा अवार्ड सुरूआत गरिएको छ । पहिलो संस्करणको अवार्ड स्वयं ब्राजिलकी लेजेन्ड मार्टाले नै जितेकी छिन् । गत जुनमा जमैकासँग गरेको गोलका लागि मार्टाले अवार्ड प्राप्त गरेकी हुन् । फिफा वुमन्स इलेभेनमा बार्सिलोना र स्पेनका खेलाडीले वर्चश्व जमाए ।



Enter Kantipur TV HD
Advertisement