पूर्वाधार अभावका कारण बागमती प्रदेशमा दशौँ राष्ट्रिय खेलकुदको तयारी शून्य

भाद्र ४, २०८१ |बालकृष्ण अधिकारी
पूर्वाधार अभावका कारण बागमती प्रदेशमा दशौँ राष्ट्रिय खेलकुदको तयारी शून्य

हेटौंडा । राष्ट्रिय खेलकुद परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको जिम्मेवारी प्रदेशका खेलकुद विकास परिषद्लाई दिने तयारी गरिरहेको छ । त्यसका लागि अन्य प्रदेशले केही गतिविधि सञ्चालन गरिरहे पनि बागमती खेलकुद विकास परिषद्सँग न खेलाडी छनोटका लागि आवश्यक बजेट छ, न पूर्वाधार नै ।

आगामी मंसिर २ देखि ९ गतेसम्म सुर्खेतमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशहरुले आ-आफ्ना हिसाबले केही न केही तयारी गरिहेका छन् । तर, बागमती प्रदेशमा भने खेलाडी छनोटको प्रक्रिया नै सुरु भएको छैन । प्रतियोगिताका लागि बन्द प्रशिक्षण हुने वा नहुने टुङ्गो नहुादा खेलाडीहरुमा उत्साहसमेत देखिएको छैन ।

तत्कालीन सदस्य-सचिव सूर्यलाल भण्डारीको गत असार २३ गते चार बर्षे कार्यकाल सकिएपछि अहिले बागमती प्रदेश खेलकुद विकास परिषद् नेतृत्वविहीन छ । विगतमा सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको परिषद् मन्त्रालय फुटेर युवा तथा खेलकुद मन्त्रालय बनेपछि यसै मन्त्रालयअन्तर्गत आएको छ । परिषद्को सदस्य सचिव नियुक्ति सामाजिक विकास मन्त्रालयले गर्ने ऐनमा व्यवस्था छ । अब युवा तथा खेलकुद मन्त्रालयबाट सदस्य सचिव नियुक्ति हुने गरी ऐन संसोधनको तयारी सुरु भएको छ ।

राष्ट्रिय प्रतियोगिताबारे राष्ट्रिय खेलकुद परिषद्ले अहिलेसम्म बागमती प्रदेश खेलकुद परिषद्लाई औपचारिक जानकारी गराएको छैन । बजेट र पूर्वाधार अभावमा खेलाडी छनोटको प्रक्रिया नै प्रभावित हुने देखिएपछि बागमती प्रदेश खेलकुद मन्त्रालयले बजेट व्यवस्थापन गरेर छनोट प्रक्रिया सुरु गर्ने तयारीमा छ ।

बागमती प्रदेशमात्र होइन, खेल पूर्वाधारका हिसाबले अन्य प्रदेशको अवस्था पनि कमजोर छ । राष्ट्रिय खेलकुदको तयारी भइरहेको अवस्थामा प्रदेश तथा केन्द्र सरकारले यसै अवसरलाई उपयोग गरी खेलकुदका पूर्वाधार निर्माणमा ध्यान दिनु पर्ने देखिएको छ । 


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement