ओलम्पिकमा नेपालको सधैं फितलो प्रदर्शन किन ?

भाद्र ४, २०८१ |सुवास रोकाया
 ओलम्पिकमा नेपालको सधैं फितलो प्रदर्शन किन ?

काठमाडौं । सन् १९६४ को टोकियो ओलम्पिकमा पहिलो पटक सहभागी भए यता नेपालले १९६८ को मेक्सिको ओलम्पिकबाहेक हरेक संस्करणमा सहभागिता जनाउँदै आएको छ । १५ वटा गृष्मकालीन ओलम्पिक खेले पनि नेपालले पदक त के, पहिलो चरण पनि पार गर्न सकेको छैन । छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पनि जम्मा तीन जनामात्र छन् । नेपाललाई ओलम्पिकमा पदक जित्न सक्षम कसरी बनाउने ?

सन् १९६४ यता आयोजित १६ मध्ये १५ वटा गृष्मकालीन ओलम्पिकमा नेपाल सहभागी भइसकेको छ, जसमा ९९ खेलाडीले प्रतिस्पर्धा गरेका छन् । तर हालसम्म सफलता भने शून्य छ । न त नेपालले कुनै पदक जितेको छ न कुनै खेलाडी दोस्रो चरण पुग्न सकेका छन् । बक्सर विष्णुबहादुर सिंहले १९८८ को सोल ओलम्पिकमा एक खेल जितेका थिए । तर नेपाल ओलम्पिक कमिटिले त्यसको अभिलेखिकरणसम्म गरेको छैन । ओलम्पिकमा नेपालको सधैं किन फितलो प्रदर्शन ? ब्याडमिन्टनका ओलम्पियन प्रिन्स दाहाललाई यसको कारक प्रशिक्षण अभाव र राज्यले गर्ने लगानी हो जस्तो लाग्छ ।

झारा टार्ने हिसाबले एक-दुई महिना गर्ने तयारी ओलम्पिकमा पदक जित्न पर्याप्त हुँदैन । त्यसका लागि ग्रासरुटबाटै तयारी थाल्नु पर्छ । विद्यालयस्तरको पाठ्यक्रममा खेलकुद विषय सामेल गर्नुका साथै खेलकुदको छुट्टै विश्वविद्यालय बनाउनुपर्ने सुझाव खेल पदाधिकारीहरुको छ ।

तयारी, पूर्वाधार र आर्थिक सहयोगले धेरै हदसम्म ओलम्पिक पदक दिलाउन मद्दत गर्ने भए पनि त्यो मात्र अन्तिम सत्य होइन । त्यसका लागि खेलाडी पनि सक्षम हुनु पर्छ । ओलम्पिकमा विश्वभरका खेलाडी सहभागी हुने भएकाले शारीरिक र मानसिक रुपमा तन्दुरुस्त त हुनु पर्छ नै उच्चस्तरको प्रशिक्षण पनि आवस्यक हुन्छ ।

नेपालले अहिलेसम्म ओलम्पिकमा कुनै पदक जित्न नसके पनि आगामी दिनमा कुनै सफलता हासिल नै गर्न नसक्ने भन्ने होइन । त्यसका लागि पूर्वाधारसँगै तत्कालीन, दीर्घकालीन योजना र रणनीति बनाउनु पर्छ । सरकारले खेलकुदलाई उद्योगको रुपमा विकास गर्दै लगानीमा ब्यापक वृद्धि गर्नुपर्छ ।

पूर्वाधार र आर्थिक रुपले नेपालभन्दा विपन्न देशहरुले पनि ओलम्पिकमा स्वर्ण पदक जितेका छन्, जसको अर्थ हो, ती देशले आफ्ना खेलाडीलाई उच्च प्राथमिकतामा राखेर तयारी गरेका छन् ।

तर हामीले तयारीका नाममा ६० बर्षअघिदेखि गर्दै आएको गल्ती र कमजोरीलाई दोहोर्‍याइरहेका छौं । राज्यले खेलाडी, खेलकुद र ओलम्पिकलाई हेर्ने दृष्टि परिवर्तन गरे, खेलकुमा लगानी बढाए र खेलाडीलाई विश्वस्तरीय प्रशिक्षण दिए पक्कै पनि अपेक्षित नतिजा हात पार्न सकिन्छ । 


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement