खेलाडी पलायनको अत्यासलाग्दो शृङ्खला

राष्ट्रिय फुटबल टिमका लागि खेलाडी पाउनै मुस्किल
फाल्गुन १६, २०८० |खेल ब्युरो
खेलाडी पलायनको अत्यासलाग्दो शृङ्खला

काठमाडौं । सन् २००३ मा एसिया कप छनोटको लागि दक्षिण कोरिया जाँदा तीन नेपाली खेलाडी राति नै भागे । त्यसपछिको खेलमा नेपालले कोरियासँग १६-शून्यको हार बेहोरेको थियो । जुन नेपाली फुटबल इतिहासकै ठूलो हार हो । खेलाडी पलायनले टिम कमजोर मात्र हुँदैन खेलाडीको मनोबल पनि कमजोर बन्छ भन्ने कुराको यो उदाहरण मात्र हो । विदेश यात्रामा नै यसरी खेलाडी भागेको तेस्रो पटक थियो । त्यसअघि ओलम्पिक छनोटको खेलका क्रममा जापानमा दुई पटक खेलाडी भागिसकेका थिए ।

त्यसपछि नेपाली फुटबलमा केही परिवर्तन भएको हो । एन्फाले एकेडेमी सुरु गरेको थियो । सहिद स्मारक लिग निरन्तर भयो । बालगोपाल महर्जन, उपेन्द्रमान सिंहलगायत ६ जना सिनियर खेलाडीले त्यतिबेला नै संन्यास लिए । अनि नयाँ खेलाडीलाई बाटो खाली गराए । त्यसपछि खेलाडी पलायन क्रम अलि कम भयो । तर नियमित प्रतियोगिता नहुँदा ठप्पै भने हुन सकेन । कारण फुटबल खेलेर घर चल्ने वातावरण नहुनु ।

फुटबल नहुँदा फाट्टफुट्ट खेलाडी बाहिरिने क्रम चलिरह्यो । नेपाली फुटबलका अल टाइम उत्कृष्ट उमेश प्रधान अमेरिका गएर उतै फुटबलमा रमाए । राष्ट्रिय टिमको कप्तान वसन्त थापा सक्रिय जीवन छोडेर जापान भासिए । शैलेश जोसी, शिव श्रेष्ठले पनि खेल जीवनलाई चटक्कै छोडे । यसरी वर्षैपिच्छे एक-दुई जना खेलाडी बाहिरिने थालेको तीन दशक बितिसकेको छ ।

फुटबलमा एक दुई जना बाहिरिँदा तेक्वान्दो, कराते र ब्याडमिन्टनजस्ता खेलका विभिन्न पुस्ताका धेरै खेलाडी बाहिरिइसकेका छन् । नेपालमै भएको १३ औं सागमा कराँते र तेक्वान्दोमा पदक जितेका सबैजसो खेलाडी पलायन भएको धेरै भइसक्यो । अहिले ती खेलका खेलाडीको पलायनको लर्को फुटबलमा प्रवेश गरेको हो ।

पहिले जापान, कोरियासँगै खाडी मुलुकमा जाने गरेका खेलाडी पछिल्लो डेढ वर्षमा भने अस्ट्रेलिया मात्रै गएका छन् । फुटबलको पछिल्लो पलायनले भने नेपाली फुटबलको स्तर एकैपटक खस्किएको छ । यो पलायनको कारण हो- नेपालमा फुटबल गतिविधि नहुनु, प्रतियोगिता भए पनि क्लबले समयमा तलब नदिनु, चोट लागेका खेलाडी कमब्याक गर्न नसक्नु र खेल व्यावसायिक नहुनु नै हो ।

खेलाडी पलायनमा एन्फा जति गैराजिम्मेवार छ, त्यति नै भूमिका क्लबको पनि छ । क्लबले नै खेलाडीलाई व्यावसायिक बनाउने हो । केही खेलाडी जोशले वा मनले अस्ट्रेलिया गएका होलान्, तर धेरैजसो बाध्यताले देश छाडेका छन् ।

नेपालले घरेलु मैदानमा यमनसँग खेल्दा नै प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनिसले ४० भन्दा धेरै खेलाडी पलायन भएको बताएका थिए । त्यसपछि नेपालले आगामी चैत ८ गते बहराइनसँग खेल्दै छ । यो खेलअघि राष्ट्रिय टिमका पाँच खेलाडी बिदेसिए ।

एन्फाले बहराइनसँगको खेलको लागि बन्द प्रशिक्षणमा बोलाएका खेलाडीमध्ये केही आउनै मानेका छैनन् । यसले खेलाडी पलायन अझै नरोकिने देखाएको छ । तर यति समस्या थाह हुँदै पनि नेपाली फुटबल चलाउने संस्था एन्फा भने मूकदर्शक बनेर बसेको छ ।