काठमाडौं । स्पेनिस फुटबल खेलाडी जेनी हर्मसोले मड्रिड अदालतमा विश्वकप फाइनलपछि भएको चुम्बन विवादका विषयमा आफ्नो बयान दिएकी छन् ।
गत वर्षको अगस्त २० मा भएको फिफा महिला विश्वकपको फाइनलमा स्पेनले इंग्ल्यानडलाई पराजित गर्दै उपाधि जितेको थियो । अवार्ड कार्यक्रममा स्पेनिस फुटबल संघका पूर्वअध्यक्ष लुइस रुबियालेसले हर्मसोलाई सहमतिबिना चुम्बन गरेका थिए ।
न्यायाधीशले रुबियालेसमाथि यौन दुर्व्यवहार तथा जबर्जस्तीको मुद्दा चलाउने कि नचाउने भन्ने निर्णय गर्नेछन् । अदालतमा आफ्नो बयान दिएर फर्किएपछि प्रतिक्रिया दिँदै हर्मसोले अब सबै न्यायालयको हातमा रहेको उल्लेख गरिन् ।
चुम्बन विवादपछि पदबाट राजीनामा दिएका रुबियालेसले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन् । स्पेनिस राष्ट्रिय महिला फुटबल टिमकी उच्च गोलकर्ता हर्मसोले करिब साढे दुई घण्टा बयान दिएकी थिइन् ।
मड्रिडका सञ्चारमाध्यमले हर्मसोले अदालतसमक्ष रुबियालेसको चुम्बन अप्रत्यासित र बिनासहमति भएको बताएकी जनाएका छन् । अदालतले टेलिभिजन फुटेजलाई प्रमाणको एक मुख्य आधार मानेको उल्लेख गरिएको छ । हर्मसोले सेप्टेम्बरमा आफूमाथि अन्याय भएको भन्दै मुद्दा हालेकी थिइन् ।