आज विद्याकी देवी सरस्वतीको पूजाआराधना गर्दै श्रीपञ्चमी मनाइँदै

माघ २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
आज विद्याकी देवी सरस्वतीको पूजाआराधना गर्दै श्रीपञ्चमी मनाइँदै

काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजाआराधना गर्दै आज श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन सरस्वतीको पूजा मनाउने गरिन्छ ।

श्रीपञ्चमी वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीको पूजा गर्ने परम्परा छ । आज विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, सङ्गीतकर्मी, पत्रकार लगायतले कला साधनाका वस्तु पूजा गर्दछन् । श्रीपञ्चमीको दिन बालबालिकालाई अक्षरारम्भ पनि गराउने चलन छ ।

आजको दिन केटाकेटीको नाक कान छेड्नका लागि पनि उत्तम दिनका रूपमा लिइने गरिन्छ । शुभ कार्यका लागि आज साइत हेर्न नपर्ने पवित्र दिनका रूपमा समेत लिने गरिन्छ ।

काठमाडौं उपत्यकाका स्वयम्भू मैतीदेवी र गैह्रीधारास्थित नील सरस्वती, ललितपुर लेलेलगायत विभिन्न जिल्लामा रहेका सरस्वती मन्दिरमा बिहानैदेखि पूजाआजा गर्नेको घुइँचो लागेको छ ।

श्री पञ्चमीका दिन काठमाडौंको हनुमानढोकास्थित नासलचोकमा पुरोहितबाट विधिपूर्वक कथा वाचन गरी वसन्त श्रवण गर्ने प्रचलन छ । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु सुरु हुने भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.