अलेक्जेन्डर ज्वेरेभ फ्रेन्च ओपनको क्वाटरफाइनलमा

जेष्ठ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
अलेक्जेन्डर ज्वेरेभ फ्रेन्च ओपनको क्वाटरफाइनलमा

पेरिस । जर्मनीका अलेक्जेन्डर ज्वेरेभ फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आक्रामक रुपमा प्रस्तुत भएका ज्वेरेभले चौथो चरणको खेलमा बुल्गेरियन ग्रिगर दिमित्रोभलाई सोझो सेटमा पराजित गरेका हुन् ।

२२ औँ वरीयताका उनले पहिलो सेट सहजै ६ - १ ले जितेका थिए । दोस्रो सेटमा विश्व वरीयताको २८ औँ स्थानमा रहेका दिमित्रोभले केही प्रतिस्पर्धात्मक प्रदर्शन गरे । ३२ वर्षीय उनले दुई पटक ब्रेक पोइन्ट बचाएका थिए । तर ज्वेरेभले ६ - ४ को जितका साथ २ - ० सेटको अग्रता बनाए । तेस्रो सेट ६ - ३ ले आफ्नो पक्षमा पार्दै उनले पछिल्लो ६ वर्षमा पाँचौँ पटक अन्तिम आठमा स्थान सुरक्षित गरे ।

अब ज्वेरेभले अर्जेन्टिनाका तोमास मार्टिन एचेभेरीसँग प्रतिस्पर्धा गर्नेछन् । नर्वेका कास्पर रुडले पनि क्वाटरफाइनल यात्रा तय गरेका छन् ।

चौथो वरीयताका रुडले चिलीका निकोलस हारीलाई तीन सेटमा हराएका हुन् । साविक उपविजेता रुडले पहिलो सेटमा हारीलाई टाइब्रेकरमा ७ - ६ ले हराएका थिए । बाँकी सेट ७ - ५, ७ - ५ ले जितेका हुन् । रुडको भेट होल्ग रुनसँग हुनेछ । रुनले अर्जेन्टिनाका फ्रान्सिस्को सेरोनडोलोमाथि पाँच सेटको रोमाञ्जक जित हात हात पारेका हुन् । उनले सेरोनडोलोलाई ७ - ६, ३ - ६, ६ - ४, १ - ६, ७ - ६ ले पराजित गरे । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.