कतार विश्वकप : अभ्यास मैदानमै बिरालो

मंसिर २३, २०७९ |सविना कार्की
कतार विश्वकप : अभ्यास मैदानमै बिरालो

दोहा । कतार विश्वकप भइरहेका सबै स्थानमा सञ्चारकर्मीले पनि प्रवेश पाउँदैनन् तर बिरालोका लागि भने कतै रोक छैन । उनीहरूलाई पत्रकार सम्मेलन, अभ्यास मैदान, खेलाडीको होटेल जहाँ पनि पुग्ने सुविधा छ । अहिले कतारी बिराला पनि स्टार खेलाडी जत्तिकै चर्चामा छन् ।

विश्वकप फुटबलको अन्तिम १६ मा दक्षिण कोरियामाथि चार-एक गोलको जीत हात पारेपछिको पत्रकार सम्मेलनमा ब्राजिलियन भिनिसियस जुनियर आए । खेलका विषयमा रियाल मडि्रड विंगर भिनिसियस र रिपोर्टरबीचको कुराकानी बिरालोले टेबल मुनि बसेर सुनिरहेको थियो । एकछिनमा त टेबलमै उक्लियो । ब्राजिलियिन प्रेस म्यानेजर भिनिसियस रोदि्रगेजले बिरालोलाई त्यहाँबाट हटाए ।

प्रशिक्षण स्थल, पत्रकार सम्मेलन, सडक, होटेल सबै ठाउँमा अन्तर्राष्ट्रिय फुटबलरले बिरालाकै चर्चा हुने गरेको छ । इंल्यान्डका डिफेन्डर केल वाल्करले आफूहरूको टिम बेस क्याम्पमा एउटा भाग्यमानी बिरालो रहेको बताए । डेभ नाम गरेको यो बिरालोले इंल्यान्डको टिकट पाउने सम्भावना पनि छ । इंल्यान्डले विश्वकप जिते बिरालो सागै लिएर जाने बताएको छ । इंल्यान्डको टिमसँग अर्को पल नामको बिरालो पनि छ । उसलाई जोन स्टोन्सले रेखदेख गर्छन् । बुकायो साका भने बिरालो देखेपछि उफ्रिने गरेका छन् ।

फ्रान्सका उस्मान डेम्बेलेलाई भने बिरालोले प्रभावित पार्न सकेन । उनी बिरालोदेखि डराउँछन् । डेम्बेले डराएको देखेर अरू खेलाडी भने हासिमजाक गर्छन् ।

कतारका सडकमा बिराला भेटिनु सामान्य जस्तै हो । बेवारिसे बिराला दोहाको विशेषता नै बनेको छ । विदेशी आगन्तुक र कतारी बिरालाबीच होटेल बाहिर, रेस्टुरेन्ट, सपिङ मल जताजतै जम्काभेट हुन्छ । यहाँ पुग्दा लाग्छ कतारमा बिरालाको संख्या धेरै नै छ ।


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।