धनुषा-३ मा प्रसूति अस्पताल, रङ्गशाला र मल कारखाना बनाउने विमलेन्द्र निधिको प्रतिबद्धता

फाल्गुन १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
धनुषा-३ मा प्रसूति अस्पताल, रङ्गशाला र मल कारखाना बनाउने विमलेन्द्र निधिको प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार विमलेन्द्र निधिले आफ्नो क्षेत्रको विकासका लागि स्वास्थ्य, कृषि र खेलकुदलाई मुख्य प्राथमिकतामा राखेर योजनाहरू सार्वजनिक गर्नुभएको छ ।

चुनावी अभियानका क्रममा बोल्दै नेता निधिले जनकपुर उपमहानगरपालिकाबाहेकका अन्य तीनवटा पालिकाहरूमा महिला तथा बालबालिकाका लागि विशेष स्वास्थ्य सेवा विस्तार गर्ने घोषणा गर्नुभयो । जनकपुरमा धेरै अस्पतालहरू खुलेका तर जनकपुरभन्दा दक्षिणका तीनवटा पालिकाहरूमा आफूले तीनवटा प्रसूति र तीनवटा बाल अस्पताल निर्माण गर्न चाहेको बताउनु भयो । 

मधेश प्रदेश कृषि प्रधान क्षेत्र भए पनि किसानले सधैं मलको अभाव झेल्नुपरेको उल्लेख गर्दै निधिले नेपालमै मल कारखाना खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँकाअनुसार यसबाट किसानले समयमै मल पाउने मात्र नभइ स्थानीय युवाहरूले ठूलो संख्यामा रोजगारी समेत प्राप्त गर्नेछन् । 

जनकपुरमा ‘राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला’ निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिँदै उहाँले यसलाई ‘स्पोर्ट्स इकोनोमी’ (खेलकुद अर्थतन्त्र)सँग जोड्नुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १०० करोड अनुदानलाई यसै रङ्गशालामा खर्च गर्नेगरी समन्वय भइरहेको र जग्गाको लालपूर्जा समेत बनिसकेको उहाँले बताउनु भयो । 

ऐतिहासिक धनुषाधामलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटकीय स्थल बनाउने योजना पनि निधिले अघि सार्नुभएको छ । जानकी मन्दिर र अयोध्या धाम जस्तै धनुषाधामलाई विस्तार गरी अन्तर्राष्ट्रिय लगानीकर्ताहरू भित्र्याउने उहाँको लक्ष्य छ । यसले धार्मिक पर्यटन मात्र नभइ आर्थिक गतिविधि बढाउने र रोजगारी सिर्जना गर्ने उहाँको विश्वास छ ।

जनकपुरमा जलन (बर्न) अस्पतालको अभाव रहेको महशुस गर्दै उहाँले एक सुविधासम्पन्न बर्न हस्पिटल निर्माण गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । आफ्नो योजना र प्रणाली कार्यान्वयनका लागि आफू प्रतिबद्ध भएर आएको बताउँदै उहाँले मतदाताहरूलाई मतदान गर्न अपील गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.