
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापालाई पाँच वर्ष प्रतिपक्ष बन्न सुझाव दिनुभएको छ ।
मंगलबार इटहरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले थापालाई कटाक्ष गर्दै सुध्रिन वा बदलिन चाहे पाँच वर्षपछिको विकल्प बन्न सुझाव दिनुभएको हो । उहाँले यो पाँच वर्ष सरकार रास्वपाले चलाउने दाबी गर्नुभयो । उहाँले समानुपातिक र प्रत्यक्षमा फरक-फरक चिन्हमा मतदान गर्नको लागि मतदातालाई भ्रममा पार्न खोजिएको आरोप लगाउनु भयो ।
उहाँले दुवैतर्फ रास्वपालाई मतदान गरेर बहुमत दिन आग्रह गर्नुभयो । उहाँले फागुन २१ गतेलाई इतिहासको पन्नामा सुनौलो अक्षरमा लेखिने पनि दाबी गर्नुभयो । उहाँले भन्नभुयो, ‘यहाँ कसै कसैले तपाईलाई झुक्याउलान्, समानुपातिकमा एउटा भोट, प्रत्यक्षमा अर्को भनेर । बहुमतको सरकार प्राप्त गर्नको लागि प्रत्यक्ष र समानुपातिक दुवैतिर घण्टी । कुनै दललाई सप्रिन, सुध्रिन मन छ भने पाँच वर्ष सडकको प्रतिपक्ष बनेर सप्रिएर आउन्, हामीले खराब गर्यौँ भने तिनि विकल्प बनेर आउन् । यसपटक मात्र घण्टी ।’
उहाँले रास्वपाले सरकार बनाएको एक सय दिनभित्र सहकारी, लघुवित्त पिडित तथा मिटरब्याजबाट पीडितहरूको वचत फिर्ता गर्ने प्रतिबद्धता पनि दोहोर्याउनु भयो । उहाँले सकुम्बासी समस्याको पनि अन्त्य गर्ने दाबी गर्नुभयो । सुकुम्बासी समस्या समाधानको नाममा भोट माग्ने यो नै अन्तिम निर्वाचन हुने उहाँको भनाइ छ ।